कागेश्वरी मनोहरा, काठमाडौँ । कागेश्वरी मनोहरा–९, गान्धी आदर्श माध्यमिक विद्यालयको सभाहलमा मंगलबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा तथा साइबर अपराधबारे महत्वपूर्ण सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा तथा विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ तथा कागेश्वरी मनोहरा–७, ८, ९ लगायतका संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका सभाध्यक्ष सामुदायिक सेवा तथा विकास समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष रविन्द्र थापा हुनुहुन्थ्यो। कार्यक्रमका प्रमुख अतिथि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) ईश्वर कार्की रहनुभएको थियो। विशिष्ट अतिथि भने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) रमेश थापा हुनुहुन्थ्यो। कार्यक्रममा प्रहरी, स्थानीय सरकार, विद्यालय, विविध संघ–संस्था, महिला समूह, स्वास्थ्य स्वयंसेवी, बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरोधी अभियानलाई लक्षित गर्दै “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” तथा “लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै लैङ्गिक हिंसा न्युनिकरण र साइबर सुरक्षा सम्बन्धी जागरण फैलाउने उद्देश्य कार्यक्रमको मुख्य थिम रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी परिसरका प्र.नि. सन्तोष कार्कीले लैङ्गिक हिंसा, साइबर सुरक्षाका प्रकार, अनलाइन जोखिम, सुरक्षित इन्टरनेट प्रयोग र कानुनी प्रक्रियाबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रमुख तथा विशिष्ट अतिथिहरूले आधुनिक समाजमा बढ्दै गएको लैङ्गिक हिंसा र साइबर अपराधका चुनौती, रोकथामका उपाय, स्थानीय तह–विद्यालय–समुदाय–प्रहरी सहकार्यका मोडलबारे महत्वपूर्ण धारणा राखेका थिए। नेपाल प्रहरी समुदायसँग हातेमालो गर्दै शान्ति–सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरियो।
गान्धी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो। वडा नं. ९ का वडा अध्यक्ष अनिल थापा तथा महिला तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सबिना श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम महासचिव पदमकुमार रेग्मीले सञ्चालन गर्नुभएको थियो।
सभाध्यक्ष रविन्द्र थापाले सबै अतिथि, सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो।
लैङ्गिक हिंसा तथा साइबर अपराध न्युनिकरणका लागि निरन्तर सहकार्य र सचेतना अभियान आवश्यक रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।
प्रतिक्रिया