काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्। सोमबार सिंहदरबारमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटपछि प्रसाईंले आफूहरूले राखेका मागहरू तत्काल सम्बोधन नभए “कसैले नसोचेको जनविद्रोह” हुने दाबी गरे।
प्रसाईंका अनुसार प्रधानमन्त्रीसँगको भेटमा नागरिकको जनजीविकासँग सम्बद्ध प्रमुख मागहरू स्पष्ट रूपमा प्रस्तुत गरिएको थियो। ती मागबारे अध्ययन गर्ने र पुस २ गतेभित्र निर्णय गर्ने प्रधानमन्त्री कार्कीको आश्वासन आफूहरूले पाएको उनले जानकारी दिए।
उनले २०६२/६३ को जनआन्दोलनको म्यान्डेट संघीयता वा धर्मनिरपेक्षता ल्याउने नभएकाले यी मुद्दामा जनमतसंग्रह आवश्यक रहेको पुनः जोड दिए।
प्रसाईंले भने,
“२०६२/६३ को जनआन्दोलनको म्यान्डेट संघीयता, धर्मनिरपेक्षता ल्याउने थिएन, राजसंस्था फ्याक्ने पनि थिएन। इँजार जहाँ गाँठो परेको हो त्यहीँ फुकाउनुपर्छ, चंगाको धागो जहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ।”
प्रसाईंले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन पनि नहुने दाबी गर्दै देशको वर्तमान राजनीतिक अवस्थाले नयाँ विकल्प मागिरहेको टिप्पणी गरे।
प्रतिक्रिया