काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसँगको समन्वयमा मिति २०८२/८/२१ देखि २३ गतेसम्म सञ्चालन हुने प्रभावकारी सेवा प्रवाहका लागि नेतृत्व सीप विकास तालिम आज विशेष समारोहका बीच औपचारिक रूपमा शुभारम्भ गरेको छ।
तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। नगर प्रमुख कार्कीले स्थानीय शासनको समग्र सुधार र जनतासँग प्रत्यक्ष सम्बन्धित सेवामा गुणस्तर वृद्धि गर्न यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताए।
नगर प्रमुख कार्कीले भने,
“नेतृत्व सीप अभिवृद्धि गर्ने यस्तो तालिमले कर्मचारीको मनोबल मात्र बढाउँदैन, उनीहरूलाई जिम्मेवारीप्रति थप उत्तरदायी, सक्षम र परिणाममुखी बनाउँछ। सेवाग्राहीले समयमै, सहज र प्रभावकारी सेवा पाउनु स्थानीय सरकारको पहिलो प्राथमिकता हो। यस तालिमबाट प्राप्त ज्ञान र कौशलले कर्मचारीहरूलाई अझ समन्वित, अनुशासित र नागरिकमैत्री ढंगले काम गर्न प्रेरित गर्नेछ।”
उनले स्थानीय तहमा सेवा प्रवाहसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न संयुक्त प्रयास र योग्य जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै तालिममार्फत उत्पन्न हुने सकारात्मक परिवर्तनले सम्पूर्ण नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।
तीनदिने यस तालिममा प्रभावकारी नेतृत्व, सेवा प्रवाहमा नवप्रवर्तन, सहकार्य तथा समन्वय, समय व्यवस्थापन, संचार कला, समस्या समाधान जस्ता विषयमा विशेषज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा नगर उपप्रमुख, वडाअध्यक्षहरू, शाखा प्रमुखहरू, कर्मचारी तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया