निर्धारित समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध: अर्थमन्त्री खनाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०८२, सोमबार ०६:३४

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सबै राजनीतिक दलको सहमति र आम नागरिकको सक्रिय सहभागितासहित निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्ने सरकार पूर्णतः प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकार निर्वाचनलाई नै प्रमुख कार्यसूची बनाएर अघि बढिरहेको बताए।
उनका अनुसार, “निर्धारित समयमा निर्वाचन सम्पन्न नभए देश अनिश्चितता र अस्थिरताको दिशामा धकेलिन सक्छ,” त्यसैले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन आवश्यक छलफल भइरहेका छन्।

अर्थमन्त्री खनालले नेपालको आर्थिक प्रगतिप्रति अन्तरराष्ट्रिय जगत्को राम्रो मूल्याङ्कन रहेको उल्लेख गर्दै निजी क्षेत्र आर्थिक विकासको प्रमुख आधार भएकाले त्यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए।
उनले भने, “निजी क्षेत्रले खडा गरेको संरचना नेपाली जनताको सम्पत्ति पनि हो। उनीहरूमाथिको आक्रमण उचित होइन।”

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हुने अनावश्यक टिप्पणीले समाज र राष्ट्रका लागि काम गर्ने व्यक्तिहरू हतोत्साहित हुने गरेको भन्दै उनले गलत कदम चालिए अर्थतन्त्रमा नकारात्मक असर पर्ने चेतावनी दिए।
उनका अनुसार, कसैले अपराध गरेकामा सरकार कठोर छ, तर उद्यमीमाथि नचाहिँदो दवाब र आरोपले विकासको गति सुस्त हुने जोखिम रहन्छ।

अर्थमन्त्री खनालले जेनजी आन्दोलनले उठाएको सुशासन र पारदर्शिताका माग सम्बोधन गर्न सरकार सक्रिय रहेको र राज्यका शक्तिशाली तहबाट हुने भ्रष्टाचार नियन्त्रणतर्फ ठोस कदम चालिएको बताए।

प्रतिक्रिया