काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले पुष्टि गरेको छ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीका अनुसार ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ।
मुद्दामा परेका पूर्वमन्त्रीहरूमा —
डा. रामशरण महत
भीम आचार्य
दीपक अमात्य
राजकुमार श्रेष्ठ
दिवंगत पोस्टबहादुर बोगटी
समेत रहेका छन्। बोगटीको निधन भएपछि उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ।
यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत अधिकारी र ठेकेदारहरू समेत प्रतिवादीको हैसियतमा मुद्दा दायर हुने अख्तियार स्रोतले जनाएको छ।
चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ सालमा सम्पन्न गरिएको हो। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिले परियोजनामा कैफियत देखाउँदै अख्तियारलाई छानबिनका लागि निर्देशन दिएको थियो।
निर्देशनअनुरूप अख्तियारले विस्तृत अध्ययनपछि आइतबारदेखि औपचारिक रूपमा मुद्दा दायर प्रक्रिया अघि बढाएको हो।
प्रतिक्रिया