काठमाडौँ । नेवा देय् दबू गोकर्णेश्वर नगर समितिद्वारा आयोजित एक महिनाको नेपाल भाषा लिपि प्रशिक्षण गोकर्णेश्वर नगरपालिका–४ स्थित सहयोगी बहुमुखी क्याम्पसको परिसरमा सम्पन्न भएको छ।
समापन समारोह नेवा देय् दबू गोकर्णेश्वर नगर समितिका अध्यक्ष शिवहरि श्रेष्ठको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा काठमाडौँ जिल्ला कमिटिका अध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल लिपि गुठीका अध्यक्ष निरञ्जन ताम्राकार, सचिव जुजुमान महर्जन, कोषाध्यक्ष प्रमिला तुलाधर, सहयोगी बहुमुखी क्याम्पसका प्रमुख रवि सिग्देललगायत स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सम्बोधनका क्रममा नगरप्रमुख रिसालले नेवारी भाषा आफ्नै मौलिक पहिचान बोकेको सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षण समुदायको साझा दायित्व रहेको बताए। “नेवारी समाजको भाषा, संस्कार, पञ्चैबाजा, भेषभूषा, लुवाई–ख्वाईजस्ता परम्परा लिच्छवी कालदेखि निरन्तरता पाउँदै आएका सांस्कृतिक धरोहर हुन्,” उनले भने, “तर पछिल्लो समय लोप हुँदै गएको हुँदा स्थानीय सरकार सक्रिय भएर संरक्षण तथा प्रवर्द्धनमा जुटिरहेको छ।”
उनले प्रत्येक समुदायले महिनामा कम्तीमा एकपटक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्ने, नेवारी साँझजस्ता गतिविधिले परम्परा जगेर्नामा ठूलो योगदान पुर्याउने तथा स्थानीय तहले यसको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
एक महिनादेखि सञ्चालन भएको नेपाल भाषा लिपि प्रशिक्षणमा विभिन्न उमेर समूहका सहभागीहरूको उत्साहजनक सहभागिता रह्यो। आयोजकका अनुसार छिट्टै परीक्षा सञ्चालन गरिने र सहभागीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिने छ। प्रशिक्षणले समुदायमा भाषा संरक्षणप्रति सकारात्मक प्रभाव पारेको बताउँदै आयोजक समितिले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
समापन कार्यक्रममा स्थानीय सरोकारवाला, सांस्कृतिक अभियन्ता तथा समुदायका विविध क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतिक्रिया