काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न निरन्तर दबाब दिइरहेको आरोप लगाएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व नै परिवर्तन गरी आफूलाई कानुनी फन्दामा पार्न प्रयास गरेको दाबी गरे।
उनका अनुसार प्रधानमन्त्री कार्कीले विभागका तत्कालीन प्रमुखलाई झुठा प्रमाण तयार गर्न र मुद्दा चलाउन पटक–पटक दबाब दिएको भए पनि उनले अस्वीकार गरेपछि सरुवा गरिएको हो। ओलीले भने, “त्यहाँका प्रमुखले गैरकानुनी काम गर्न नमानेपछि तुरुन्तै हटाइयो र प्रधानमन्त्रीको चाहनाअनुसारको मान्छे ल्याइयो।”
अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गर्ने निर्णयदेखि अन्य गतिविधिसम्म संविधानविपरीत भइरहेको दाबी गर्दै यस्तो सरकारलाई अध्यादेश जारी गर्ने नैतिक अधिकार नभएको टिप्पणी गरे।
ओलीको आरोपपछि राजनीतिक तहमा थप तनाब चुलिने देखिएको छ।
प्रतिक्रिया