काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको अध्ययन तथा छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री कार्कीले घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानबिन सुरू गर्न गृह मन्त्रालयलाई आग्रह गरेको बताएकी हुन्।
उनका अनुसार बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकता प्राप्तिका लागि लामो समय संघर्ष गरेपछि निराश भएर जीवन समाप्त गर्न बाध्य भइन्। यति मात्र होइन, उक्त घटनाको केही दिनमै युवतीका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको तथ्य बाहिर आएको उनले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था आएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु। घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु।”
सरकारले अब घटनाको सबै पक्ष उजागर गरेर आवश्यक कारबाही र समाधानका कदम चाल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया