टोखामा १०२ वर्षीय थापा घरमै सम्मानित, १२औं स्थापना दिवसमा व्यापक सम्मान कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८२, शुक्रबार ०७:५०

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस भव्य रूपमा मनाउँदै वरिष्ठ नागरिक, विद्यार्थी, खेलकर्मी, करदातादेखि समाजसेवीसम्मलाई सम्मानित गरेको छ। समारोहमार्फत नगरपालिकाले वार्षिक उपलब्धि सार्वजनिक गर्दै सेवा तथा विकास योजनाका विस्तृत विवरण प्रस्तुत गरेको छ।

स्थापना दिवसकै अवसरमा नगरपालिका–६ का १०२ वर्षीय पहलमान सिंह थापालाई मेयर प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठसहितको टोलीले घरमै पुगेर नगद, दोसल्ला र सम्मानपत्र प्रदान गर्यो। यस्तै, टोखा–१ की १०४ वर्षीया दिलकुमारी लामिछाने तथा ९८ वर्षीय अर्को एक वरिष्ठ नागरिकलाई पनि विशेष सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

यस अवसरमा एसईईमा ४ जीपीए हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई सम्मान प्रदान गरियो। खेलकुद क्षेत्रमा ए–डिभिजनमा स्तरोन्नति हासिल गरेको श्री भगवती क्लबलाई पनि नगदसहित सम्मानित गरिएको थियो। साथै, टोखा धिमेखल सरस्वतीका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो।

नगरपालिकाले कार्यक्रममा ‘वार्षिक प्रगति प्रतिवेदन’‘नगर बुलेटिन’ सार्वजनिक गर्दै सामाजिक सुरक्षा तथा सेवा योजनाहरू—बच्चा जन्मिँदा आर्थिक सहयोग, कृया खर्च सहयोग, मुटु–मृगौला–क्यान्सर उपचार सहयोग लगायतका कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गर्यो।
बढी कर तिर्ने संस्थामध्ये ग्रान्डी अस्पताल तथा बढी कर संकलन गर्ने वडा नं. ९ लाई समेत सम्मानित गरिएको छ।

मेयर प्रकाश अधिकारीले आगामी वर्षहरूमा टोखालाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अग्रस्थानमा पुर्‍याउने दावी गर्दै विपद् व्यवस्थापनका लागि बारुद यन्त्रनिःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार टोखामा सुरक्षा, स्वास्थ्य र राजस्व व्यवस्थापनलाई सुदृढ बनाउने काम प्राथमिकतामा राखिएको छ।

स्थापना दिवससँगै खुला रक्तदान कार्यक्रम समेत सम्पन्न भयो। जनप्रतिनिधि, समाजसेवी, राजनीतिककर्मी तथा स्थानीयवासीको उत्साहपूर्ण उपस्थिति रहेको समारोह नगरपालिकाका अनुसार सफल र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

प्रतिक्रिया

Leave a Reply