गोकर्ण–जगडोलमा किराँत समुदायको मंसिरे पूर्णिमा (उधौली) भव्यरूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० मंसिर २०८२, शुक्रबार ०७:०५

काठमाडौँ । प्राकृतिक पूजक भूमिपुत्र किराँत समुदायले आफ्नो सांस्कृतिक महान् पर्व मंसिरे पूर्णिमा (उधौली) गोकर्ण–जगडोलस्थित शहीद पार्क तथा किराँत भुमेथानमा आज अत्यन्तै भव्यरूपमा मनाएको छ। सांस्कृतिक र धार्मिक रूपमा महत्वपूर्ण मानिने यो पर्व हजारौँ वर्षदेखि प्रकृति, भूमिपूजा र पूर्वजप्रति सम्मान प्रकट गर्ने परम्परासँग जोडिएको छ।

कार्यक्रममा निवर्तमान अर्थ समितिका सभापति सन्तोष चालिसे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उहाँले धान्य पूर्णिमा (उधौली) को अवसरमा किराँत समुदायले प्रकृति संरक्षण, सांस्कृतिक पहिचान र सामुदायिक एकतामा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे।

सांस्कृतिक कार्यक्रम अत्यन्तै आकर्षक बनेको थियो। किराँत समुदायका बुवा–आमाबाट युवा–युवतीसम्म आफ्नै परम्परागत भेषभूषा, ढोल–झ्याली, सक्केवा, च्याब्रुङ नृत्य र संगीतसहित उपस्थित भएका थिए। समुदायका ज्येष्ठ नागरिकका आशिष, युवा पुस्ताको उत्साह र मातृभूमिप्रति सम्मानले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

उधौली पर्व मनाउने यो परम्परा प्रकृति चक्रअनुसार उचाइबाट तल्लो भूभागतर्फ झर्ने किराँत समुदायको ऐतिहासिक र जीवनपद्धतिसँग सम्बन्धित छ। प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै धान, अन्न र उत्पादनप्रति धन्यवाद ज्ञापन गर्ने दिनका रूपमा पनि यो पर्व विशेष मानिन्छ।

कार्यक्रम शान्त, अनुशासित र अत्यन्तै सांस्कृतिक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

slot gacor