वडा अध्यक्ष भीमसेन थापाको निधन : पूर्व उपप्रधानमन्त्री लगायत शीर्ष नेतृत्त्वद्वारा अन्तिम श्रद्धाञ्जली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०८२, बिहीबार १६:३७

काठमाडौँ ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.–२ का सचिव भीमसेन थापाको असामयिक निधन भएको छ। उहाँको निधनले स्थानीय राजनीतिक क्षेत्र, जनप्रतिनिधि समुदाय र कांग्रेस संगठन गहिरो शोकमा डुबेको छ।

स्वर्गीय थापाको पार्थिव शरीरमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, कांग्रेस महामन्त्री गगन कुमार थापा, तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

उहाँको अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा अहिले हजारौँको संख्यामा आफन्त, शुभचिन्तक, स्थानीय बासिन्दा तथा राजनीतिक सहकर्मीहरूको उपस्थिति रहेको छ।

भीमसेन थापा समुदाय–मुखी, इमानदार र जिम्मेवार जनप्रतिनिधिका रूपमा परिचित थिए। उहाँको नेतृत्त्व क्षमता, सामाजिक सेवाप्रतिको समर्पण, शालीन व्यवहार तथा नागरिकमैत्री कार्यशैलीका कारण उहाँ व्यापक रूपमा लोकप्रिय रहनुभएको थियो।

उहाँको निधनले कागेश्वरी मनोहरा नगरपालिका मात्र होइन, सम्पूर्ण काठमाडौं क्षेत्र नं.–२ ले एक सक्रिय, कर्मनिष्ठ र जनताको पक्षमा तटस्थ रूपमा काम गर्ने जनसेवक गुमाएको नगरवासीहरूको प्रतिक्रिया छ।

थापाले आफ्नो कार्यकालका दौरान सडक, खानेपानी, सामाजिक सुरक्षा, विद्यालय सुधार, सहकारी तथा समुदाय कल्याणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

स्थानीय राजनीतिक दल, सामुदायिक संस्था तथा नागरिक समाजले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको सेवाभाव र समर्पण सधैँ स्मरणीय रहने बताएका छन्।

स्वर्गीय थापाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया

slot gacor