बुटवल, लुम्बिनी । एसियन पार्टी प्यालेस बुटवलमा आयोजित एक विशेष समारोहमार्फत Association of Preschool Educators Nepal (APEN) को लुम्बिनी प्रदेश कार्यसमिति औपचारिक रूपमा गठन गरिएको छ। विभिन्न जिल्लाका मन्टेस्वरी तथा प्री–स्कूलका प्रिन्सिपलहरूको भेलाबाट सर्वसम्मत रूपले नयाँ नेतृत्व चयन गरिएको हो।
अध्यक्ष: सरस्वती ढुंगाना
उपाध्यक्ष: अर्जुन क्षेत्री
सचिव: रुपा गैरे
कोषाध्यक्ष: केशब पाठक
सदस्य: तुलसा राना, रमेश न्यौपाने, लक्ष्मी भुषाल, नबिन पाण्डे
सल्लाहकार: नितु श्रेष्ठ
उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहाल, महासचिव कृष्णकुमार बोहरा तथा विशिष्ट अतिथि एवं केन्द्रीय सदस्य अनिल आचार्यको विशेष उपस्थिति रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्री–स्कूल शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र संस्थागत बनाउने अभियानमा संगठनको भूमिकालाई निर्णायक बताउनुभयो। उहाँले केन्द्रीयदेखि स्थानीय तहसम्म शिक्षा प्रणालीलाई पेशागत बनाउने उद्देश्यप्रति जोड दिनुभयो।
त्यसैगरी, महासचिव कृष्णकुमार बोहराले APEN प्रिन्सिपल, अभिभावक, शिक्षक–कर्मचारी, बालबालिका तथा स्थानीय निकायबीच प्रभावकारी संयोजन गर्न सक्ने “पुल” को रूपमा स्थापित भइसकेको बताउनुभयो। उहाँले व्यवसायिक सुरक्षादेखि संस्थागत लगानी सुरक्षित गर्नेसम्म संगठनले महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो।
केन्द्रीय सदस्य अनिल आचार्यले प्री–स्कूल र मन्टेस्वरी क्षेत्रसँग जोडिएका कानुनी जटिलता तथा व्यावहारिक समस्यामा APEN ले दीर्घकालीन समाधान प्रदान गर्दै आएको जानकारी दिनुभयो। उहाँले देशैभर संगठनले उद्देश्यअनुसार प्रभावकारी रूपमा काम गरिरहेको तथ्य प्रस्तुत गर्नुभयो।
वक्ताहरूले लुम्बिनी प्रदेशमा मन्टेस्वरी तथा प्री–स्कूल शिक्षा क्षेत्रलाई एकीकृत, गुणस्तरीय, सुरक्षित र सक्षम बनाउन नवगठित कार्यसमितिले ठोस भूमिका खेल्ने अपेक्षा राखे। संस्थागत सञ्जाल विस्तार, कानुनी सहजीकरण, पेशागत पहिचान मजबुत पार्ने कार्यमा समितिले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रम शुभकामना मन्तव्य, परिचय, सम्मान तथा आगामी कार्ययोजनासहित सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया