काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको १२औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम मंगलबार हात्तीगाँडास्थित नगरपालिका प्राङ्गणमा सांस्कृतिक झल्कीसहित उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। कार्यक्रम नगर प्रमुख मिठाराम अधिकारीको सभापतित्वमा तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुर्कोटी, जिल्ला समन्वय समिति काठमाडौँकी उपप्रमुख शान्ति पाण्डे, नगर उपप्रमुख अनिता लामा, प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, पूर्व नगर प्रमुख उद्धव खरेल, पूर्व माननीय नुच्छे नारायण, पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईको सञ्चालनमा सञ्चालन गरिएको थियो।
कार्यक्रम राष्ट्रिय गान तथा शहीदहरूको सम्झनामा मौनधारणबाट सुरु गरिएको थियो। नगर उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका क्षेत्रमा पुर्याएको प्रगतिबारे प्रकाश पारिन्। प्रमुख अतिथिले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरे।
जुगल नवगुरुकुलका विद्यार्थीहरूले स्वस्तिवाचन तथा बालउद्धार माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिए। विभिन्न विद्यालय, कलाकार तथा स्थानीय समूहहरूले नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति दिँदा वातावरण उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयराम थापाले बुढानीलकण्ठ नगरपालिका विकासको तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै, “काम गर्दै जाँदा गल्ती हुन सक्छ, तर सुधार गर्दै अघि बढ्नु नै प्रगतिको मूल मन्त्र हो” भन्दै नागरिक र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले खानेपानी समस्याको समाधान स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा छिट्टै लागू हुने प्रतिवद्धता पनि व्यक्त गरे।
कार्यक्रमका अतिथि पूर्व प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले पनि मन्तव्य राख्दै नगरको सेवा प्रवाह, प्रशासनिक सुधार तथा जनउत्तरदायित्वमा निरन्तरता आवश्यक रहेको धारणा राखे।
नगर प्रमुख मिठाराम अधिकारीले नगरवासीका आवश्यकता, माग र आवाजलाई प्राथमिकतामा राख्दै सुव्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउन निरन्तर काम भइरहेको बताए। उनले स्थानीय तहका सेवाहरूमाथि जनआस्थालाई अझ मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।
स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका सक्रिय व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।
उत्कृष्ट करदाता **बुढानीलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री होटल)**लाई सम्मान
साइकल र्यालीमा समन्वय गर्ने संस्थाहरूलाई प्रमाणपत्र वितरण
उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा उत्कृष्ट सेवा दिने कर्मचारीहरूलाई सम्मान
सांस्कृतिक प्रस्तुति तथा नृत्यमा सहभागी विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र वितरण
जुगल नवगुरुकुलका विद्यार्थीबाट आकर्षक गजल प्रस्तुति
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू—रास्वपा नगर कार्यवाहक सभापति राधा शाह, नेकपा बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष नारायण श्रेष्ठ, एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोललगायतले शुभकामना मन्तव्य राखे।
स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, कलाकार तथा नगरवासीहरू उत्साहपूर्वक सहभागी भएका कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।
नगर प्रमुख मिठाराम अधिकारीले सबैप्रति आभार व्यक्त गर्दै समृद्ध, सुशासित र आधुनिक नगरपालिका निर्माणमा नगरपालिकाको भूमिका अझ प्रभावकारी हुने प्रतिवद्धता जनाए।
कार्यक्रम सामूहिक फोटोसेसनसँगै भव्य रूपमा सम्पन्न भयो।

प्रतिक्रिया