काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ र स्कोन (ISKCON) दुबैको संयोजनमा बूढानीलकण्ठ क्याम्पस तथा बूढानीलकण्ठ विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीहरूलाई ‘भगवान श्रीकृष्णले अर्जुनलाई प्रदान गरेको दिव्य ज्ञान’ समेटिएको भगवद्गीता पुस्तक वितरण गरिएको छ।
धार्मिक शिक्षा, सकारात्मक सोच र नैतिक मूल्यलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले गीता अध्ययनले जीवनमा सकारात्मक दृष्टिकोण, अनुशासन र सदाचारको विकास हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका अवसरमा वक्ताहरूले सकारात्मक सोचको महत्त्वलाई विशेष रूपमा जोड दिँदै भने—
“सकारात्मक सोचले व्यक्तिलाई सधैँ राम्रो कार्य गर्न प्रेरणा दिन्छ। मन शुद्ध भयो भने व्यवहार सुध्रिन्छ, व्यवहार सुध्रिँदा समाज नै समृद्ध बन्छ।”
गीता पुस्तक वितरणले युवा पुस्तामा धार्मिक चेतना, मानवीय मूल्य, चरित्र निर्माण र नैतिक नेतृत्व विकासमा सकारात्मक योगदान गर्ने आयोजकहरूको विश्वास छ।
वडा नं. ३ र स्कोनले यस प्रकारका शैक्षिक तथा संस्कारमूलक कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने बताइएको छ।

प्रतिक्रिया