काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गोकर्णेश्वर नगरपालिकाले विभिन्न जागरणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर क्षेत्रमा महिला, बालिका तथा संवेदनशील समूहमाथि हुने हिंसा न्यूनीकरण गर्न नगरपालिका निरन्तर सक्रिय रहेको उपप्रमुख सान्नानी लामाले बताउनुभयो।
उहाँका अनुसार, नगरपालिकाले विद्यालय, समुदाय, महिला समूह, आमा–समूह तथा नागरिक समाजसँग सहकार्य गर्दै हिंसा पहिचान, रोकथाम तथा प्रतिकार्य सम्बन्धी कार्यहरू प्रभावकारी रूपमा अघि बढाइरहेको छ।
उपप्रमुख लामाले भन्नुभयो—
“गोकर्णेश्वर नगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि निरन्तर जागरणमूलक कार्य गर्दै आएको छ। हिंसा सहने होइन, पहिचान र प्रतिकार गर्न सिकाउन हामी समुदायमै गएर कार्यक्रम गरिरहेका छौँ। नागरिकलाई सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्नु नै हाम्रो पहिलो लक्ष्य हो।”
उहाँले स्थानीय तहले चलाइरहेका सीप विकास तालिम, मनोसामाजिक सल्लाह सेवा, महिला मित्र काउण्टर, प्रहरीसँगको सहकार्य, विद्यालय–स्तरीय अभिमुखीकरण तथा समुदायमै सञ्चालन हुने अन्तरक्रियात्मक कार्यक्रमहरूले हिंसा रोकथाममा सकारात्मक प्रभाव परेको बताउनुभयो।
उपप्रमुख लामाका अनुसार, १६ दिने अभियानका क्रममा र्याली, अभिमुखीकरण, छलफल कार्यक्रम, सडक नाटक, चित्रकला प्रतियोगिता, साथै जोखिममा परेका व्यक्तिका लागि सहयोग तथा परामर्श सेवा प्रदान गरिएको छ।
उहाँले थप भन्नुभयो—
“हाम्रो प्रयास तब प्रभावकारी हुन्छ जब नागरिक स्वयं सचेत छन्। लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन मात्र होइन, वर्षभर निरन्तर चल्ने हाम्रो प्राथमिक कार्यक्रम हो।”
गोकर्णेश्वर नगरपालिकाले सबैको सहभागिता सुनिश्चित गर्न आह्वान गर्दै हिंसा–मुक्त समाज निर्माणमा एक–अर्कालाई साथ दिनुपर्नेमा विशेष जोड दिएको छ।
प्रतिक्रिया