तिनचुली–आरूबारी सडक पिच कार्यको चालिसेद्वारा निरिक्षण, स्थानीयलाई सहजता हुने विश्वास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०८२, मंगलवार ०६:५०

काठमाडौं । तिनचुली–आरूबारी सडक खण्डमा भइरहेको पिच कार्यको प्रतिनिधि सभा, अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेले आज निरिक्षण गर्नु भएको छ। उहाँले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासहित आज पिच कार्यको प्रगतिबारे अवलोकन गर्नुभएको हो।

चालिसेले काठमाडौं क्षेत्र नं. ३ का निवर्तमान सांसद तथा अर्थ समिति सभापतिका रूपमा यस सडकको पिचका लागि लामो समयदेखि पहल र महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो। विशेषगरी योजना तथा बजेट व्यवस्थापनका लागि सडक विभागबाट काठमाडौं महानगरपालिकालाई चिठी लेखाउने कार्यमा पनि उहाँको भूमिका निर्णायक रहेको थियो।

सडक निर्माणमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, काठमाडौं महानगरपालिका–६ बौद्धका वडा अध्यक्ष भुवन लामा, वडा सदस्य भगवान थापा, गोनपा–९ का वडा अध्यक्ष राजिव थापा, गोनपा–८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधिहरूको विशेष पहल रहेको बताइन्छ।

सडक निरिक्षणका क्रममा सभापति चालिसेले पिच गराउने वातावरण बनाउन निकै मिहिनेत गर्नुपरेको स्मरण गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पिच सम्पन्न भएपछि स्थानीय जनताको आवत–जावत सहज हुने, साथै सडकबाट उड्ने धुलो–मैलोपनबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभयो। साथै लामो समयसम्म धैर्यता र सहयोग पुर्‍याएकोमा स्थानीयवासीप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

तिनचुली–आरूबारी सडक खण्डमा मेलम्ची खानेपानी आयोजनाका पाइप बिछ्याउने, ड्रेन निर्माण लगायतका कारण पिच कार्यमा ढिलाइ हुँदै आएको थियो। अब पिच कार्य अघि बढेसँगै स्थानीयले छिट्टै राम्रो र गुणस्तरीय सडकको सुविधा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया