कागेश्वरी मनोहरा नगरपालिका । नगर प्रहरी बललाई प्रदान गरिएको ५ दिने अग्नि नियन्त्रण सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमसमेतको समापनसँगै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।
यस तालिममार्फत नगर प्रहरी बल थप दक्ष, सक्षम र तालिमप्राप्त बनेको उल्लेख गर्दै नगरपालिकाले नगरबासी थप सुरक्षित महसुस गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेको छ। विपद्का घटनामा समयमै प्रतिक्रिया जनाउन तथा प्रभावकारी सहयोग पुर्याउन यो तालिम अत्यन्त उपयोगी हुने बताइएको छ।
यस महत्वपूर्ण पहलको सफलतामा नगरप्रमुख श्री उपेन्द्र कार्कीज्यूको विशेष पहल रह्यो। तालिम भोलिन्टियर कोर्प्स नेपाल (VCN) को नेतृत्वमा, श्री दीपक चापागाईंको समन्वयमा सञ्चालन गरिएको थियो।
नगरपालिकाका अनुसार जापान सरकारद्वारा सञ्चालित Grassroots Human Security Project (GGP) मार्फत जापान दूतावासले कागेश्वरी मनोहरा नगरपालिकालाई अग्निनियन्त्रण सवारी (फायर ट्रक) सहयोग उपलब्ध गराएको हो। यसले नगरको विपद् व्यवस्थापन क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, परियोजनाको सफल कार्यान्वयनमा एआरएफएफ एवं नेपाल रेस्क्यु एण्ड फायरफाइटर एशोसिएशन नेपालका अध्यक्ष मधुसुदन थापाज्यूले पुर्याएको महत्वपूर्ण रचनात्मक योगदानप्रति नगरपालिका परिवारले हृदयदेखि कृतज्ञता व्यक्त गरेको छ।
नगरपालिकाले भविष्यमा पनि स्थानीय सुरक्षा, अग्नि व्यवस्थापन तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया