आगामी निर्वाचनका लागि १२० दलले दर्ता निवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८२, सोमबार ०६:२८

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल १२० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता निवेदन दिएको आयोगले जनाएको छ। दर्ता निवेदन दिएका दलहरूमध्ये संयुक्त चुनाव चिह्न प्रयोग गरी चुनाव लड्न इच्छुक दलहरू पनि रहेका छन्।

निर्वाचन आयोगका सहसचिव तथा कानुन–राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनहरूको अध्ययनपछि मात्र आयोगले अन्तिम निर्णय गर्नेछ। अध्ययनका क्रममा कतिपय दलहरूको संख्या हेरफेर हुन सक्ने उनले बताए।

निर्वाचन कार्यक्रमअनुसार मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्न समय तोकिएको थियो। तर, दर्ता प्रक्रियामा रहेका दलहरूको आग्रहअनुसार आयोगले चार दिन समय थप गरी अन्तिम मितिसम्म १२० दलबाट निवेदन प्राप्त भएको हो।

गत २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा ८४ दलले मात्र भाग लिएका थिए। यसपटक भने सहभागी हुन चाहने दलको संख्या उल्लेख्य रूपमा बढेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनहरूको आवश्यक जाँचबुझ गरी योग्य ठहरिने दललाई मंसिर २० गतेभित्र स्वीकृति प्रदान गरिनेछ।

प्रथम-पास–द–पोस्ट (FPTP) प्रणालीका निर्वाचन कार्यक्रम

– माघ ६ गते : निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता तथा प्रारम्भिक सूची प्रकाशन
– माघ ७ गते : मनोनयनविरुद्ध उजुरी दिने अन्तिम मिति
– माघ ८ गते : मनोनयन पत्र तथा उजुरीको जाँचबुझ, निर्णय र उम्मेदवारको नामावली प्रकाशन
– माघ ९ गते : उम्मेदवारले नाम फिर्ता लिन पाउने अन्तिम समय तथा अन्तिम नामावली प्रकाशन
– सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण

समानुपातिक निर्वाचन प्रणालीका कार्यक्रम

– मंसिर २० गतेदेखि समानुपातिकतर्फको निर्वाचन प्रक्रिया सुरु
– मंसिर २१ गते : समानुपातिक निर्वाचनमा भाग लिन दल दर्ताका निवेदन पेस
– मंसिर २४ गते : दर्ता निवेदन पेस गर्ने दलहरूको नामावली प्रकाशन
– पुस १३ र १४ गते : दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस
– माघ २० गते : बन्द सूचीको अन्तिम प्रकाशन

मतदान मिति

आयोगले स्वीकृत गरेको तालिका अनुसार आगामी फागुन २१ गते, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभरका सम्बन्धित मतदान केन्द्रहरूमा मतदान हुनेछ।

प्रतिक्रिया

Leave a Reply