काठमाडौं। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको छ। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानका क्रममा शेरचनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
कर्जा फर्जीकरण र स्वीकृति प्रक्रियामा अनियमितता गरिएको आशंकामा सीआईबीले कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारी कर्जा फाइल, आन्तरिक पत्राचार तथा स्वीकृतिसम्बन्धी महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक छानबिनमै कर्जा स्वीकृति प्रक्रियामा तत्कालीन अध्यक्ष भट्टचनसहित उच्च व्यवस्थापन तहबाट अनियमितता भएको आशंका प्रबल भएपछि सीआईबीले अनुसन्धान थप विस्तार गर्दै सीईओ शेरचनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीले घटनासम्बन्धी विस्तृत छानबिन जारी रहेको जनाएको छ।
प्रतिक्रिया