काठमाडौं, बुढानीलकण्ठ । बुढानीलकण्ठ नगर अस्पतालले सेवा क्षेत्रको विस्तार तथा नगरवासीलाई नजिकैबाट स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बृद्ध नागरिक केन्द्रित ‘बृद्ध सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ।
नगर अस्पताल सञ्चालन समितिको २०८२ मंसिर २ गते बसेको बैठकको निर्णयअनुसार मंसिर ९ गतेदेखि अस्पतालले नियमित सेवासँगै बृद्ध नागरिकका लागि छुट्टै सेवा सुविधा प्रदान गर्न सुरु गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।
यसका लागि अस्पताल प्रशासनले बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयलाई पत्र पठाउँदै बृद्ध सेवा विस्तारका सम्बन्धमा जानकारी गराएको छ । उक्त पत्रमा सेवाका विवरण तथा आवश्यक सहयोगका विषयमा समेत समन्वय गरिदिन अनुरोध गरिएको छ।
अस्पतालका प्रमुख प्रशासनिक अधिकृत गोपाल प्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा, नगरको आवश्यकता र जनसङ्ख्याको संरचनालाई मध्यनजर गर्दै बृद्ध नागरिकमैत्री सेवा अनिवार्य रहेको उल्लेख छ।
नगरवासीले अब बुढानीलकण्ठ–१० स्थित नगर अस्पतालमै बृद्ध उमेरका व्यक्तिलाई आवश्यक स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ।

प्रतिक्रिया