गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामाले नगरमा भइरहेको खेलकुद विकासका गतिविधिबारे खेलकुद मन्त्री बब्लु गुप्तालाई स्थलगत जानकारी गराउँदै आवश्यक कार्यहरूमा छलफल तथा समन्वय गरेका छन्।
नगरप्रमुख दिपक रिसाल, नगर खेलकुद समितिका सदस्य सचिव दिनेश चाम्लिङ राई तथा अन्य खेलकुद सदस्यहरूको सहभागितामा गरिएको उक्त भेटघाट तथा अवलोकन कार्यक्रममा खेल पूर्वाधार निर्माण, प्रशिक्षण सुविधा विस्तार, खेलमैदान व्यवस्थापन तथा प्रतिभावान युवालाई अवसर प्रदान गर्ने विषयमा विस्तृत चर्चा भएको थियो।
अध्यक्ष लामाले नगर खेलकुद विकास समितिले हालसम्म अघि सारेका परियोजना, भइरहेको प्रगति तथा आगामी योजनाबारे मन्त्रीसमक्ष प्रस्तुत गर्दै नगरलाई खेलमैत्री बनाउन आवश्यक सरकारी सहयोगको आवश्यकता औँल्याए।
मन्त्री गुप्ताले खेलकुद क्षेत्र युवाको क्षमताविकास, स्वास्थ्य र सामाजिक एकताको माध्यम भएकाले स्थानीय तहमा भइरहेको सक्रियताले प्रदेशस्तरमै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले सम्भव भएसम्म सहयोग गर्ने र समन्वयमार्फत खेल क्षेत्रलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रमका सहभागीहरूले गोकर्णेश्वर नगरपालिकामा खेल पूर्वाधार विस्तार र व्यवस्थापन द्रुत गतिमा अघि बढाइने साझा प्रतिवद्धता व्यक्त गर्दै नगर खेलकुद विकासको यात्रालाई अझ प्रभावकारी बनाउने दृढता प्रकट गरेका थिए।

प्रतिक्रिया