काठमाडौँ, कागेश्वरी मनोहरा। रोटरी क्लब साँखु र रोटरी क्लब काठमाडौं सर्कलले कागेश्वरी मनोहरा नगरपालिकाको विपद् व्यवस्थापन क्षमतामा वृद्धि गर्न फायर फाइटिङ तथा सुरक्षासम्बन्धी सामग्री हस्तान्तरण गरेका छन्।
क्लबहरूले नगरपालिकालाई ३ थान फायर हेल्मेट, ३ सेट बुट, ३ सेट फायर ड्रेस तथा एम्बुलेन्स चालकका लागि १ सेट पीपीई प्रदान गरेका हुन्। यो सहयोगले नगरको विपद् पूर्वतयारी, आगलागी नियन्त्रण तथा जनसुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रमका दौरान दुवै क्लबका प्रतिनिधिहरूले कागेश्वरी मनोहरा नगरको सुरक्षात्मक क्षमतालाई थप मजबुत बनाउने उद्देश्यले सहयोग गरिएको बताए। नगरपालिकाले फायर फाइटिङ सामग्री प्राप्त भएसँगै आकस्मिक घटनामा अझ छरितो रूपमा प्रतिक्रिया दिन सकिने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नं. ४ का वडा अध्यक्ष धन श्रेलगायत जनप्रतिनिधिहरू उपस्थित थिए। नगरपालिकाले सुरक्षित, सुदृढ र सक्षम नगरपालिका निर्माणतर्फ अघि बढ्दा यस्ता सहकार्यले महत्वपूर्ण योगदान पुर्याइरहेको जनाइएको छ।
प्रतिक्रिया