काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार तामाङले कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन भइरहेका प्रमुख खानेपानी आयोजना तथा पूर्वाधार विकासका कामहरूको स्थलगत अनुगमन गरेका छन्।
नगरप्रमुख उपेन्द्र कार्की, नगरका जनप्रतिनिधि, प्राविधिक टोली र सरोकारवालाको उपस्थितिमा मन्त्री तामाङले पाइपलाइन विस्तार, मुहान संरक्षण, वितरण प्रणाली, निर्माणको गुणस्तर र कार्यप्रगतिबारे विस्तृत जानकारी लिएका हुन्।
अनुगमनका क्रममा मन्त्री तामाङले स्थानीय तहसँगको समन्वयलाई अझ प्रभावकारी बनाउन निर्देशन दिँदै, खानेपानी जस्ता आधारभूत सेवा उपलब्ध गराउने काममा गुणस्तर, पारदर्शिता र समयबद्धता सरकारको प्रमुख प्राथमिकता रहेको बताए।
उनीले केही स्थानमा देखिएका चुहावट, ढिलाइ, प्राविधिक कमजोरी तथा मुहान सुरक्षामा देखिएका चुनौती सुधार गर्न सम्बन्धित निकायलाई तत्काल कदम चाल्न आग्रह गरे। मन्त्री तामाङले आवश्यक परे प्रदेश सरकारबाट थप बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
नगरप्रमुख कार्कीले नगरभित्र बढ्दो जनघनत्वका कारण खानेपानी आपूर्तिमा दवाब बढेको उल्लेख गर्दै, स्थायी समाधानका लागि दीर्घकालीन संरचना तथा क्षमता विस्तार अपरिहार्य रहेको बताए। उनले मन्त्रीस्तरीय निरीक्षणले स्थानीय कामको गतिमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।
अनुगमनपछि मन्त्री तामाङले कागेश्वरी मनोहरा नगरपालिकामा भइरहेका आयोजनाहरूको प्रगति सन्तोषजनक रहेको भन्दै, “जनताले पिउने पानीमा कुनै सम्झौता हुँदैन, गुणस्तरीय सेवा सुनिश्चित गर्न सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” भने।
प्रतिक्रिया