गोकर्णेश्वर नगरपालिका–९ ले ‘विद्यार्थीसँग वडा अध्यक्ष तथा जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार १५:२१

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–९ ले “विद्यार्थीसँग वडा अध्यक्ष तथा जनप्रतिनिधि” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। वडा नं. ९ मा अवस्थित श्री अरुणोदय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला गरी करिब १५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमका मुख्य अतिथि वडा अध्यक्ष राजीव थापा रहेका थिए भने सभापतित्व वडा सदस्य उमेश चालिसेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नर बहादुर गुरुङ, समाजसेवी सञ्जय पोखरेल, विकास श्रेष्ठ, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता उल्लेखनीय थियो।

विद्यार्थी–जनप्रतिनिधि प्रत्यक्ष संवाद

कार्यक्रमले विद्यार्थी र स्थानीय जनप्रतिनिधिबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गरेको विद्यालयले जनाएको छ। संवादका क्रममा विद्यार्थीहरूले स्थानीय विकासका काम, बाटो–घाटो निर्माण, खेलमैदानको आवश्यकता, पानी तथा बाटोसम्बन्धी समस्या, विद्यालयमा हुने कोचिङ कक्षाको अवस्था, खाजाको समय व्यवस्थापन, शिक्षाका विविध गतिविधि तथा वडास्तरका कार्यक्रमहरूमा विद्यार्थीहरूको सहभागिता जस्ता विषयमा जिज्ञासा राखेका थिए।

वडा अध्यक्ष थापाद्वारा प्रत्येक प्रश्नको स्पष्ट जवाफ

विद्यार्थीहरूको जिज्ञासाको उत्तर दिँदै वडा अध्यक्ष राजीव थापाले पानीको समस्या सहित विद्यार्थीहरूले उठाएका प्रत्येक प्रश्नको सरल र सहज भाषामा स्पष्ट जवाफ प्रदान गर्नुभयो।

उहाँले वडामा भइरहेको विकास–निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै विद्यालयका आवश्यकता अनुरूप आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

थापाले पानीको समस्या समाधानका लागि वडाबाट आवश्यक पहल भइरहेको, खेलकुद प्रवर्धनका लागि डोजो हल निशुल्क उपलब्ध गराइएको, तथा विद्यार्थी–केन्द्रित कार्यक्रमहरूलाई आगामी दिनमा पनि वडाको प्राथमिकतामा राखिने स्पष्ट गर्नुभयो।

कार्यक्रमको संयोजनमा शुभम मल्टिमिडियाको सहयोग र सक्रियता रहेको उल्लेख गर्दै वडा अध्यक्षले विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो।

‘यस्ता कार्यक्रमले विद्यार्थीलाई उर्जा दिन्छ’ — सभापति चालिसे

कार्यक्रमका सभापति वडा सदस्य उमेश चालिसेले विद्यार्थी र जनप्रतिनिधिबीचको प्रत्यक्ष संवादले युवाहरूमा उत्साह र उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले वडाले आगामी बजेटमा विद्यार्थी–केन्द्रित कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय र वडाबीच सहकार्यका कार्यक्रम अझ प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्नुभयो।

स्थानीय शासन बुझ्न सहयोग

कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय शासनको संरचना, विकास प्रक्रिया तथा जनप्रतिनिधिको कार्यप्रणालीबारे प्रत्यक्ष धारणा बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयले आगामी दिनमा पनि विद्यार्थी अभिमुख कार्यक्रम निरन्तर गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply