काठमाडौँ । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मितव्ययी बनाउन निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र गुनासो विभागहरूमा व्यापक उजुरी पेश गरिएको छ।
उजुरीमा निर्वाचन अधिकृत कार्यालय र घुम्ती टोलीको खर्च अत्यधिक भएको, तालिमका नाममा दिइने भत्ता र मसलन्द खर्च अनावश्यक रूपमा बढाइएको, खाजा खर्चको दोहोरो व्यवस्था भएको उल्लेख छ। साथै, स्थायी कर्मचारीलाई तलब भत्ता र पेन्सन सुविधा दिइएपनि अतिरिक्त भत्ता र भ्रमण भत्ता दिइएको, मतदानस्थलमा स्वयंसेवक र सुरक्षाकर्मीका भत्ता तल्लो तहसम्म नपुगेको उजुरीमा भनिएको छ।
अनावश्यक सामग्री खरिद, सरकारी सवारी साधनको दुरुपयोग, भ्रमण भत्ताको अत्यधिक उपयोग र दैनिक भत्ताको दोगुनी व्यवस्था रोक्न माग गरिएको छ। उजुरीले सुझाव दिएको छ कि:
तालिम र तयारीका दिनको छुट्टै भत्ता घटाइयोस्।
सहायक कर्मचारीलाई अधिकतम २ दिन र मतदान अधिकृतलाई अधिकतम ४ दिनको भत्ता दिइयोस्।
यातायात सुविधा भएको स्थानमा अतिरिक्त यातायात भत्ता नदिई, पैदल वा दुर्गम क्षेत्रमा मात्र मापदण्ड अनुसार भत्ता दिइयोस्।
पुराना निर्वाचन सामग्री प्रयोग गरी नयाँ सामग्री खरिद नगर्ने।
उजुरीमा भनिएको छ कि चुनावमा अनावश्यक खर्च र दोहोरो भत्ता वितरणले राज्यलाई अर्बौँको नोक्सान पुगेको छ र करदाताको पैसा दुरुपयोग भइरहेको छ। यसैले सबै खर्चको पारदर्शिता र जवाफदेहिताको व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।
प्रतिक्रिया