तारकेश्वरमा करिब ५०० यूकेजी बालबालिकासहित शैक्षिक पैदलयात्रा सम्पन्न-स्थानीय संरचना बुझ्ने, व्यवहारिक सिकाइ र बालमैत्री शिक्षातर्फ महत्वपूर्ण कदम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:५०

तारकेश्वर। अपेन तारकेश्वर नगरकमिटीको आयोजनामा जरन्खु पुलदेखि तारकेश्वर नगरपालिका भवनसम्म यूकेजी तहका बालबालिकालाई लक्षित भव्य शैक्षिक पैदलयात्रा सम्पन्न गरिएको छ। नगरका १७ विद्यालयबाट करिब ५०० बालबालिकाको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रमले कक्षा बाहिरको वास्तविक वातावरणमार्फत ‘हेरेर–बुझेर–सिक्ने’ प्रभावकारी सिकाइ संस्कारलाई प्रवर्द्धन गरेको आयोजकहरूको भनाइ छ।

कार्यक्रमपछि नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुदिन राज बुढाथोकी, तथा अपेन तारकेश्वर नगरकमिटीकी अध्यक्ष रेखा शाही हमालले मन्तव्य व्यक्त गर्दै यस्तो गतिविधिले बाल सिकाइलाई समुदायसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

 स्थानीय शासन बुझ्ने बालमैत्री अभियान

कार्यक्रमले स्थानीय सरकारको संरचना, भूमिकाबारे बालबालिकामा सहज र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
नगर–विद्यालय सहकार्यलाई मजबुत बनाउँदै साझा उत्तरदायित्व र सहभागितामूलक शिक्षा प्रणाली निर्माण गर्न कार्यक्रमले सहयोग पुर्‍याएको उपमेयर बुर्लाकोटीले बताइन्।

जीवनोपयोगी सीप सिक्ने अवसर

शैक्षिक पैदलयात्राले—

अनुशासन

सहयोग

समूह भावना

सुरक्षा बोध

सामाजिक व्यवहार
जस्ता जीवनोपयोगी सीप बालबालिकामा विकास भएको शिक्षकहरूले बताएका छन्।

विद्यार्थीलाई मायाको चिनो

कार्यक्रमको अन्त्यमा नगरप्रमुख महर्जन र उपमेयर बुर्लाकोटीले सबै विद्यार्थीलाई पेन्सिल र इरेजर वितरण गर्दै हौसला प्रदान गरे।

व्यवस्थापनमा स्काउट र स्वयंसेवकको सक्रियता

कार्यक्रमको सुरक्षा र व्यवस्थापनमा—

एजल्स नेसनल स्कुलका स्काउट टोली,

मारिया मन्टेस्वोरी ट्रेनिङ सेन्टरका स्वयंसेवक समूह,

नगरप्रहरीले महत्वपूर्ण भूमिका खेलेका थिए।

सफल आयोजनाप्रति व्यापक प्रशंसा

प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार तथा नगरप्रहरीको उल्लेखनीय उपस्थितिले सम्पन्न शैक्षिक पैदलयात्रालाई तारकेश्वर नगरक्षेत्रमा बालमैत्री शिक्षाको उत्कृष्ट अभ्यासका रूपमा व्यापक प्रशंसा गरिएको छ।

प्रतिक्रिया