काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि नेकपा (एमाले)सँग सहयोग मागेकी छन्।

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:३९
काठमाडौँ। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूसँग सोमबार भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले आफू निर्वाचन गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै दलहरूको सहयोग अपरिहार्य भएको बताएकी हुन्। नयाँ सरकार गठनपछि प्रधानमन्त्री कार्की र एमाले नेताबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो।

वार्तामा सहभागी विघटित प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन अनुकूल वातावरण निर्माणका लागि सबै दलको साथ आवश्यक रहेको धारणा व्यक्त गरिन्। “प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुलाई हामीले सकारात्मक रूपमा लिएका छौं। उहाँले दलहरूले सहयोग गर्नुपर्छ भन्नुभयो,” बर्तौलाले भने।

उनका अनुसार एमाले लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको र जनतामाझ जान सदैव तयार रहेको पार्टी भएको बताए। “हामीले सहयोगको अपिल होइन, चुनावी वातावरण खोजेका हौं,” बर्तौलाले स्पष्ट पारे।

यसै क्रममा एमाले नेताहरूले निर्वाचनका लागि अझै सहज अवस्था नबनेको उल्लेख गर्दै सुरक्षा र प्रशासनिक पक्षमा देखिएका चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

बर्तौलाले भने, “आईजीपीको अवकाश भएपछि स्थानहदका कारण प्रहरी संगठनको मनोबल प्रभावित भएको छ। कारागारबाट फरार कैदीबन्दी, लुटिएका हतियार फिर्ताबारे हामीले प्रश्न राख्यौं। प्रधानमन्त्रीले यसमा सक्रिय प्रयास भइरहेको बताउनुभयो।”

एमाले नेताहरूले चुनावको विरोध नभएको तर विश्वसनीय, सुरक्षित र सहज वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने माग राखे। कानुनी परीक्षण तथा अन्य संवेदनशील विषय पनि छलफलमा उठाइएको बताइएको छ।

प्रधानमन्त्री कार्कीले सबै दलको सहयोग रह्यो भने आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply