गोकर्णेश्वर–६ ले जारी गर्यो अत्यन्तै जरुरी सूचना : डिजिटल पेमेंट लागू भएपछि कर तिर्न आउने सबैलाई कागजात लिएर आउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०८२, शुक्रबार ०५:३०

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिका–६ ले कर व्यवस्थापनलाई सहज, पारदर्शी र आधुनिक बनाउने उद्देश्यसहित Digital Payment प्रणाली लागू गरिएको जनाएको छ। डिजिटल प्रणाली लागू भएसँगै कर तिर्न आउँदा आवश्यक कागजातहरु अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचना वडाले जारी गरेको छ।

वडा–६ का वडा अध्यक्ष नवराज लामाका अनुसार हालैको जेन्जी आन्दोलनका क्रममा वडा कार्यालयका धेरै कागजात जलेर नष्ट भएको हुँदा कर सम्बन्धी पुराना रेकर्ड उपलब्ध छैनन्। त्यसैले एकपटकका लागि सबै सेवाग्राही तथा वडावासीले कर तिर्न आउँदा पूर्ण विवरणसहितका कागजात ल्याउनुपर्ने वडाले अनुरोध गरेको छ।

वडा अध्यक्ष नवराज लामाको आग्रह

अध्यक्ष लामाले भने —
“डिजिटल प्रणाली सुरु भएपछि रेकर्डहरू सदैव सुरक्षित रहनेछन्। तर हाल पुराना सबै कागजात जलेर नष्ट भएकाले नागरिकहरूबाट पुनः कागजात संकलन गर्नुपर्ने अवस्था आएको छ। कर तिर्न आउँदा आवश्यक कागजातहरू लिएर आउनुहोस्, वडाले तपाईंहरूको सेवा छिटो र व्यवस्थित रूपमा उपलब्ध गराउनेछ।”

आवश्यक कागजातहरू (वडाले सार्वजनिक गरेको अनुसार)

कर तिर्न आउँदा सेवाग्राहीहरूले निम्न कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछः

जग्गाधनी प्रमाण–पूर्जा वा त्यसको प्रतिलिपि

नागरिकता प्रमाणपत्र

कर तिरेको पुरानो रसिद (उपलब्ध भए)

घरधुरी तथा सम्पत्ति विवरण

बसाइ–सराइ कागजात (लागु भएमा)

डिजिटल प्रणालीले दिने फाइदा

कर तिर्ने प्रक्रिया झनै छरितो, पारदर्शी र सुरक्षित

सबै रेकर्डहरू डिजिटल रूपमा सुरक्षित

कागजमा निर्भरता घटेर सेवा वितरण प्रभावकारी

भविष्यमा घरमै बसेर कर भुक्तानी गर्न सहज

वडा–६ ले सबै वडावासी तथा सेवाग्राहीलाई जानकारीका लागि उक्त सूचना साझा गर्न, आवश्यक कागजात पूरा गरी कर तिर्न आउन र डिजिटल सेवाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

प्रतिक्रिया