काठमाडौं। बुढानीकण्ठ नगरपालिका–१२औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी थालिएको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले महत्वपूर्ण निर्णय गर्दै कार्यक्रम सफल पार्नका लागि नगरप्रमुख मित्तराम अधिकारीको संयोजकत्वमा एक मूल समिति गठन गरेको छ। उक्त समितिमा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू तथा कर्मचारी प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नगरपालिकाले विभिन्न आयाम समेटिएको तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ।
मंसिर १३ गते – साइकल र्याली
स्थानीय स्तरमा स्वास्थ्य, वातावरण संरक्षण र सक्रिय नागरिकताको सन्देश फैलाउने उद्देश्यले साइकल र्याली आयोजना हुने नगरपालिका जनाएको छ।
मुख्य दिवस मंसिर १६ गते – शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम
स्थापना दिवसको मूल कार्यक्रम नगरपालिका प्राङ्गणमै बिहान १० बजेबाट सुरु हुनेछ। कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, सामाजिक अगुवाहरू, कर्मचारी तथा हितग्राहीहरूको उपस्थितिका लागि नगरपालिका हार्दिक निमन्त्रणा गरेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक कर तिर्ने एक संस्थागत र एक व्यक्तिगत करदातालाई सम्मान गरिनेछ।
साथै, उत्कृष्ट उपभोक्ता समिति, निर्माण व्यवसायी, तथा सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थाहरूलाई पनि सम्मान प्रदान गरिनेछ।
नगरपालिकाका विभिन्न कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई प्रत्येकलाई १५,०१५ रुपैयाँ नगदसहित पुरस्कृत गरिने तय गरिएको छ।
मंसिर १६ गते (मुख्य कार्यक्रमको दिन) नगरपालिका कार्यालय र वडा कार्यालयहरूबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द रहने जनाएको छ। नगरपालिका अनुसार, सेवाप्रवाह अस्थायी रूपमा रोकिनु स्थापना दिवसका कार्यक्रमहरूको सहज व्यवस्थापनका लागि हो।
नगरप्रमुख मित्तराम अधिकारीले स्थापना दिवस केवल औपचारिकता नभई नगरपालिकाको पहिचान, प्रगति र सहकार्यको प्रतीक भएको बताउँदै यस्तो कार्यक्रम नागरिककै सहभागिताले अर्थपूर्ण बन्ने उल्लेख गरे।
उनले भने—
“स्थापना दिवसले हाम्रा उपलब्धि समीक्षा, आएका चुनौती पहिचान र भविष्यका योजनालाई नागरिकसँग साझेदारी गर्ने अवसर दिन्छ। सबै नगरवासीलाई उत्साहपूर्वक सहभागी हुन अनुरोध गर्दछु।”
नगर उपप्रमुख अनिता लामाले नगरपालिका विकासमा सहकार्य र समावेशी सहभागिताको भूमिका महत्वपूर्ण रहेको बताउँदै भनिन्—
“स्थापना दिवसले हामीलाई अझ प्रेरित बनाउँछ। नागरिकमैत्री, महिला–बालमैत्री, पारदर्शी र सक्षम स्थानीय सरकार निर्माणका लागि हामी निरन्तर काम गरिरहेका छौँ।”
नगरपालिकाले १२औँ स्थापना दिवसलाई स्थानीय विकास, करप्रोत्साहन, सुशासन र जनसहभागिताको संदेश दिने प्रमुख अवसरका रूपमा उपयोग गर्न लागेको जनाएको छ।
प्रतिक्रिया