जाडोयाममा वायु प्रदूषण बढ्दा कागेश्वरी मनोहरा नगरपालिकाको अपिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०८:३९

कागेश्वरी मनोहरा । जाडो महिनाको शुरुसँगै काठमाडौँ उपत्यकासहित कागेश्वरी मनोहरा क्षेत्रमा वायु प्रदूषण तीव्र रूपमा बढ्न थालेपछि नगरपालिका र वातावरण विभागले संयुक्त रूपमा जनस्वास्थ्य प्रति सचेत रहन नागरिकलाई अपिल गरेका छन्।

मंसिर १ गते जारी गरिएको अपिलमा जाडोयाममा धुलो–धुँवाको मात्रा अत्यधिक बढ्ने भएकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटु–रोगी तथा गर्भवती महिलामा यसको खतरनाक असर पर्ने उल्लेख गरिएको छ।

नगरपालिकाले खुला स्थानमा फोहोर दहन (बाल्ने) नगर्न, कृषि अवशेष तथा प्लाष्टिकजन्य सामग्री जलाएर प्रदूषण फैलने कार्य रोक्न, पेट्रोलियम पदार्थ तथा कोइला जस्ता स्रोतको अनावश्यक दहन नगर्न आग्रह गरेको छ। यस्तै, घर–घरमा चुलो, भान्सा, निर्माण कार्य तथा सडकमा धुलो नियन्त्रणका उपायहरू अपनाउन सबैलाई अनुरोध गरिएको छ। विभागले प्रदूषण न्यूनिकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै, सङ्घीय, प्रदेश तथा स्थानीय तहले समन्वय गरी स्रोतमै नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ।

नियमित रूपमा ढुंगा–माटो, धुलो–धुँवा उत्सर्जन गर्ने गतिविधिमा निगरानी बढाइने, आवश्यक परे दण्ड–जरिवाना तथा नियन्त्रणात्मक कारबाही हुने चेतावनीसमेत भिडियो अपिलमा उल्लेख छ। वायु प्रदूषण रोकथाममा सबैले आफ्नो तर्फबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सके मात्र स्वस्थ वातावरण कायम राख्न सकिने जनाउँदै कागेश्वरी मनोहरा नगरपालिकाले सहकार्यका लागि नगरबासीलाई हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया