काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले लैंगिकताको आधारमा कसैलाई हीनभावना उत्पन्न हुने, अपमानजनक वा भावनामा चोट पुग्ने व्यवहार गर्नु नै हिंसा हुने बताएका छन्।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै सुवेदीले समाजमा अझै पनि सूक्ष्म तथा प्रत्यक्ष दुबै प्रकारका लैंगिक विभेदहरू रहेको उल्लेख गर्दै यस्तो व्यवहार तत्काल अन्त्य गर्न सबैले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।
उनले भने, “लैंगिकताका कारणले कसैलाई–कसैलाई भावनामा चोट पुग्नेगरी व्यवहार गर्नु नै हिंसा हो। हिंसा शब्दले मात्र कुटपिट बुझिँदैन, विचार, व्यवहार र बोलीमार्फत हुने चोट पनि हिंसा नै हो।”
सुवेदीका अनुसार स्थानीय तहले लैंगिक हिंसा रोकथाम तथा पीडित सहायता कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। उनले विद्यालय, समुदाय र घर–परिवार स्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिँदै नगरपालिकाले आवश्यक परामर्श, कानुनी सहायता र सुरक्षित वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागीहरूलाई लैंगिक समानता, मानव अधिकार र हिंसा रोकथामसम्बन्धी जानकारी प्रदान गरिएको थियो। नगरपालिकाले यस्तो अभियानले सामुदायिक चेतना अभिवृद्धि हुने र लैंगिक मैत्री समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया