काठमाडौँ । जलवायु परिवर्तन र वातावरणीय चुनौतीहरूको प्रभावकारी समाधानका लागि UNEP (United Nations Environment Programme) र टोखा नगरपालिकाबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
मङ्सिर १० गते सम्पन्न छलफलमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख र सम्बन्धित विभागका अधिकारीहरूसहित UNEP का प्रतिनिधिहरू उपस्थित थिए। छलफलमा जलस्रोत संरक्षण, पानीको प्रभावकारी उपयोग, हरित विकास, वन्यजन्तु संरक्षण र दिगो शहरीकरणका उपायहरूमा विशेष ध्यान दिइएको थियो।
नगरपालिकाका अनुसार, UNEP प्रतिनिधिहरूले भुतिखेल, गलेपार्क क्षेत्रसहित १८ स्थानमा स्थलगत भ्रमण गर्ने निर्णय गरेका छन्। भ्रमणको मुख्य उद्देश्य नगर क्षेत्रका मौजूदा वातावरणीय अवस्था मूल्याङ्कन, सम्भावित सुधार उपायहरूको अवलोकन र स्थानीय स्तरमा दिगो अभ्यास लागू गर्ने योजना तयार गर्नु रहेको छ।
नगर प्रमुख प्रकाश अधिकारीले भने, “स्थलगत अध्ययनबाट प्राप्त जानकारीले टोखा नगरपालिकामा जलवायु अनुकूल नीति निर्माण र वातावरणीय कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न मद्दत गर्नेछ। हामी समुदाय र सरकारी साझेदारीमा काम गर्दै दिगो विकास सुनिश्चित गर्ने लक्ष्यमा अघि बढिरहेका छौं।”
भ्रमण तथा छलफल कार्यक्रमले नगरपालिकाको वातावरणीय योजना, जलस्रोत संरक्षण र स्थानीय स्तरमा दिगो विकासका पहलहरूलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया