धरहरा शुल्कसहित सञ्चालनमा आएको एक वर्ष, ७ करोड ७१ लाख राजस्व सङ्कलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८२, बुधबार ०८:२४

काठमाडौँ । पुनर्निर्माणपछि धरहरा शुल्कसहित सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। सो अवधिमा रु ७ करोड ७१ लाख प्रवेश शुल्कबाट सङ्कलन भएको धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुनधाराका प्रमुख महेश राईले जानकारी दिनुभयो।

अघिल्लो वर्ष मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला धरहरा हाल हप्ताको सातै दिन सञ्चालन हुँदै आएको छ। “अघिल्लो मंसिर ९ देखि अहिलेसम्म ४ लाख ६९४ जना नागरिक धरहरा चढिसकेका छन्, जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक समावेश गरिएको छैन। करिव २८ सय विदेशी नागरिकले पनि धरहरा चढिसकेका छन्,” उहाँले भन्नुभयो।

धरहरा प्रवेश शुल्क प्रतिव्यक्ति रु २०० तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइएको छ। सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु ५००, र सार्कबाहेक राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु १ हजार तिर्नुपर्छ।

धरहरा परिसरमा पार्किङ शुल्क चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ। प्रवेशका लागि अन्य चारै पाङ्ग्रे सवारीसहित प्रतिव्यक्ति रु ५० शुल्क निर्धारण गरिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको आदेश, २०८१ अनुसार धरहरा सञ्चालनमा ल्याइएको हो। साथै, व्यावसायिक छायांकनफोटोग्राफीका लागि पनि निश्चित शुल्क तोकिएको छ—व्यावसायिक भिडियो छायांकन प्रतिघण्टा रु ५ हजार र फोटो प्रतिघण्टा रु १ हजार।

धरहरा संचालनमा आएको छोटो अवधिमा नै ठूलो संख्या मानिस आकर्षित भएको र राजस्व सङ्कलनले ऐतिहासिक संरचनाको दिगो व्यवस्थापनमा योगदान पु¥याएको बताइएको छ।

प्रतिक्रिया