काठमाडौँ, गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिकाले राजस्व संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै २०७९/०५/१० गतेदेखि SUTRA Software मार्फत राजस्व संकलन तथा Digital Payment प्रणाली लागू गर्ने भएको छ। अब नगरवासीले कुनै पनि राजस्व तथा सेवा शुल्क घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फतै भुक्तानी गर्न सक्नेछन्।
नयाँ डिजिटल प्रणालीको घोषणा गर्दै नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वरलाई आधुनिक, पारदर्शी र सहज सेवा प्रवाह गर्ने लक्ष्यअनुसार डिजिटलिकरणको अभियानलाई गति दिइएको बताउनुभयो।
उहाँले भने—
“अब डिजिटल युगमा नगरवासीलाई लाइन बस्नुपर्ने, कागज बोकेर हिँड्नुपर्ने वा वडा धाउनुपर्ने बाध्यता अन्त्य हुँदैछ। नगरपालिकाले घरबाटै सेवा लिन सकिने व्यवस्था मिलाउँदै सुशासन र पारदर्शितामा नयाँ उदाहरण प्रस्तुत गर्दैछ।”
नगरप्रमुख रिसालका अनुसार SUTRA प्रणाली कार्यान्वयनसँगै राजस्वका सबै प्रक्रिया स्वचालित, द्रुत, सुरक्षित र अनुगमनयोग्य हुनेछन्।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत यमनारायण गौलीले डिजिटल भुक्तानीबाट नगरवासीलाई ठूलो सहजता हुने बताउँदै, अब कागजी झन्झट र कार्यालय धाउनुपर्ने आवश्यकता न्यून हुने स्पष्ट पार्नुभयो।
उहाँले जोड दिनुभयो—
“अब नगरपालिकामा वा वडामा बारम्बार आउनै पर्ने छैन। घरमै बसेर Mobile Banking, eSewa, Khalti लगायत डिजिटल माध्यमबाट राजस्व भुक्तानी गर्न सकिन्छ। सेवा प्रवाह झनै सरल, छरितो र पारदर्शी हुने छ।”
नगरपालिकाले डिजिटल पेमेंट सक्रियतापूर्वक प्रयोग गर्न स्थानीयवासीलाई आवश्यक जानकारी तथा तालिम कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।
डिजिटल राजस्व प्रणाली लागू भएपछि राजस्व संकलनमा पारदर्शिता, समय बचत, सेवा सरलता र सुशासनमा नयाँ मोड आएको नगरपालिका नेतृत्वको दाबी छ।
प्रतिक्रिया