काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गोकर्णेश्वरस्थित राष्ट्रिय सहिद पार्कमा नेपालको विभिन्न ऐतिहासिक आन्दोलनका सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतवार बिहान सहिद पार्क पुगेर मुख्यमन्त्री बानियाँले पुष्पगुच्छा अर्पण गर्दै सहिदहरूको बलिदानप्रति कृतज्ञता व्यक्त गरेका हुन्।
सहिद पार्क अवलोकनका क्रममा मुख्यमन्त्री बानियाँसँगै बागमती प्रदेशका आर्थिक मामिला मन्त्री प्रभात लामा, पूर्व संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, निवर्तमान अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व सांसद दिपक कुईकेल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल, पूर्व उपप्रमुख शान्ती नेपाल, वडा नं. ४ का पूर्व अध्यक्ष श्रीकुमार श्रेष्ठलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमका अवसरमा मुख्यमन्त्री बानियाँले सहिद पार्कको समुचित संरक्षण तथा विकासका लागि प्रदेश सरकारबाट आवश्यक र सार्थक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहिदहरूको योगदानलाई दीर्घकालीन रूपमा स्मरणीय बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए।
सहिद पार्कको वर्तमान अवस्था, संरचना तथा विस्तार योजनाबारे सहिद पार्क संरक्षण समितिका अध्यक्ष सुदर्शन सिग्देलले मुख्यमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।
कार्यक्रममा सहभागीहरूले सहिदहरूको बलिदानले देशमा राजनीतिक परिवर्तन, नागरिक अधिकार र लोकतन्त्र स्थापनामा असाधारण योगदान पुगेको उल्लेख गर्दै सहिद पार्कलाई ऐतिहासिक स्मारकका रूपमा अझ व्यवस्थित रुपले विकास गर्न जोड दिएका थिए।
प्रतिक्रिया