गोकर्णेश्वरमा च्याउ उत्पादनले स्थानीय आत्मनिर्भरता, बीउ देशभर वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८२, सोमबार ०७:१३

गोकर्णेश्वर।  किसानको हितलाई प्राथमिकतामा राख्दै गोकर्णेश्वर नगरपालिकाले कृषि क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ। सोही क्रममा गोकर्णेश्वर च्याउ उत्पादन तथा बिक्री वितरण केन्द्रले स्थानीय स्तरमा उत्पादन गरेको च्याउले नगरपालिका खाद्य उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

केन्द्रले उत्पादन मात्र नभई च्याउको बीउ (स्पॉन) समेत उत्पादन गरी देशभर आपूर्ति गर्दै कृषि व्यवसायलाई सुदृढ बनाउँदै आएको छ। सम्पन्न भएको केन्द्रको साधारणसभा तथा अधिवेशनको अवसरमा नगर प्रमुख दीपक रिसालले कृषि परिवर्तन र किसान सशक्तीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले कृषि व्यवसायलाई अब परम्परागत अभ्यासमा सीमित नराखी व्यावसायिक, प्रविधिमैत्री र उत्पादनमुखी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै “कृषकलाई प्रोत्साहन दिन, कृषिमा क्रान्ति ल्याउन र आयमूलक खेती विस्तार गर्न नगरपालिका सधैं साथमा छ” भन्ने धारणा राखे।

नगर प्रमुख रिसालले च्याउ उत्पादन केन्द्रको योगदानप्रति प्रशंसा व्यक्त गर्दै यसको विस्तारले स्थानीय रोजगारी, आयवृद्धि र बजार व्यवस्थापनमा महत्वपुर्ण भूमिका खेलेको बताए। उनले च्याउ खेतीको वैज्ञानिक पद्धति, बजार मूल्य स्थिरता, कृषि सहुलियत, किसानलाई तालिम तथा सहयोग कार्यक्रमलाई अझ सुदृढ बनाउने योजनाका बारेमा जानकारी पनि साझा गरे। कृषि क्षेत्रलाई प्रमुख आधार मानेको गोकर्णेश्वर नगरपालिकाले छेउका किसानलाई प्रविधिगत सहयोग, अनुदान, बीउ-वितरण, तालिम र अनुगमनमार्फत उत्पादन वृद्धिमा जोड दिँदै आएको छ।

प्रतिक्रिया