काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहले राजनीतिक पुनर्संरचनाको माग उठाएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले यो पुस्ताको चेतनाबाट नै नयाँ राजनीतिक विकल्पको खोजी सुरु भएको उल्लेख गरे। भट्टराईले भने, ‘पार्टी र दल म भन्दिनँ, यहाँ राजनीतिक पुनर्संरचना खोजिएको हो । नयाँ विचारसहितको नयाँ विकल्प खोजिरहँदा जेनजी विद्रोहले राजनीतिक पुनर्संरचना खोजेको हो।’
उनका अनुसार गुम्सिएको अन्तरविरोध भदौ २३ र २४ गते विस्फोट भएको हो । संविधान जारी हुँदा नै ‘आधा गिलास’ भन्ने संज्ञा दिएको स्मरण गर्दै उनले नयाँ शक्तिको नेतृत्व लिनुको पृष्ठभूमि त्यही राजनीतिक असन्तुलन भएको बताए ।
भट्टराईले भने, ‘नेपालमा परिवर्तन आयो, विश्वमा पनि परिवर्तन आयो । इन्टरनेट प्रविधिदेखि अहिले एआईसम्म आइपुगेको सन्दर्भमा मान्छेको चेतनास्तरकै क्रान्ति यही कालखण्डमा भएको छ।’
उनले भने, ‘हामी माओवादी छोडेर गएको होइन, माओवादीको कार्यभार पूरा भएको हो । २००७ सालदेखि २०७२ सालसम्मको कार्यभार पूरा भइसकेको छ। अब पार्टी मात्र होइन, राजनीतिकै पुनर्संरचना गर्नुपर्छ। यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नु हो। युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ। हामी दुई–चार सिट जित्न नयाँ दोकान थाप्न आएका होइनौँ।’
कम्युनिस्ट पार्टीभित्र ‘चोरी खाने ठग प्रवृत्ति’ हाबी भएको टिप्पणी गर्दै भट्टराईले समाजवादको भ्रम छर्दै जनतालाई छल्ने काम भएको आरोप लगाए।
‘कम्युनिस्ट प्रवृत्ति अब चल्दैन । कमाउनिस्ट साथीहरूले चोरी गरेर समाजवादी भनेर व्याख्या गर्न थाले। अर्को पुँजीवादी धारको नेतृत्व उदारवादी भनी कांग्रेस र अहिलेका मध्यपन्थीहरूले गरेका छन्। यी दुवैको विकल्पका रूपमा हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी अगाडि बढाएका हौँ। प्रगतिशील भनेको गुदी कुरा हो।’ उनले थपे ।
कार्यक्रममा उनले मुलुक सहज अवस्थामा नरहेकाले नयाँ तथा वैकल्पिक शक्तिहरू एकजुट भई हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रतिक्रिया