कागेश्वरी मनोहरामा आईटी तालिम पूरा गरेका २० युवालाई तत्काल रोजगारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८२, आईतवार १७:०३

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा सम्पन्न १० दिने सूचना–प्रविधि (आईटी) तालिम पूरा गरेका २० युवालाई तत्काल रोजगारी उपलब्ध गराइने भएको छ। जेनिस सोलुसनको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा १ सय ५० जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ४० जनाले पूर्ण १० दिनको पाठ्यक्रम पूरा गरी व्यावहारिक सीप हासिल गरेका छन्।

जेनिस सोलुसनका अनुसार तालिमबाट दक्ष भएका २० युवालाई संस्थाले छिट्टै रोजगारीमा प्रवेश गराउने तयारी गरेको छ। सीपयुक्त जनशक्ति उत्पादनमार्फत श्रमबजारमा प्रवेश सहज बनाउने उद्देश्य तालिमले पूरा गर्न सफल भएको संस्थाले जनाएको छ।

१० दिन लामो तालिम आज औपचारिक रूपमा समापन गरिएको हो।

तालिम समापन कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले स्थानीय तहमा सीपयुक्त जनशक्तिको माग बढ्दो रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार र सुदृढ बनाइने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार तालिम पूरा गरेका युवालाई नगरपालिका मातहतका कार्यालय, सहकारी संस्था तथा स्थानीय निजी क्षेत्रसँग सहकार्य गरेर अतिरिक्त रोजगारीका अवसर पनि प्रदान गरिनेछ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई ‘आईटी हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको जानकारी पनि दिएका छन्। यससँगै नगरपालिकाले तालिममा सहभागी भएका युवालाई अबका ४ महिना थप उन्नत स्तरको तालिम प्रदान गर्ने व्यवस्था मिलाएको छ।  

प्रतिक्रिया