काठमाडौँ । विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई अझ प्रभावकारी, सरल र सुरक्षित बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ।
दुवै संस्थाबीच भएको उक्त सहकार्यसँगै अब यूएईमा रहेका नेपालीहरूले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट रकम पठाउन सक्नेछन्। पठाइएको रेमिट्यान्स नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार जोयालुक्कास एक्सचेन्जमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंकका खातामा पनि तुरुन्तै जम्मा हुने व्यवस्था गरिएको छ।
माछापुच्छ्रे बैंकले देशभर १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर तथा १९९ एटीएमसहित २७४ स्थानबाट १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले प्रविधिमैत्री तथा आधुनिक सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया