बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका आर्थिक वर्ष २०८२/८३ का लागि नगर गौरवको आयोजना अन्तर्गत सञ्चालन भइरहेको नगर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले यस वर्ष १०० जना नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्यसहित ५ वडामा अभिमुखिकरण र समिति गठन प्रक्रिया सम्पन्न गरेको छ।
कार्यविधि २०८० बमोजिम सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत वडा नं. ६, ७, १३, ११ र १० मा लक्षित वर्ग पहिचान गर्न मिति कार्तिक २६ देखि मंसिर १ गतेसम्म वडा–स्तरीय अभिमुखिकरण तथा वडास्तरीय उद्यम विकास समिति गठन गरिएको हो।
कार्यक्रममा वडाअध्यक्ष तथा जनप्रतिनिधि, आर्थिक विकास महाशाखा तथा उद्योग–पर्यटन शाखाका प्रमुख, वडा सचिव, महिला समूह, टोल सुधार समिति, उद्योग व्यवसायी, युवा क्लब, वित्तीय संस्था तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि गरी २९० जनाको सहभागिता रहेको नगरपालिका कार्यालयले जनाएको छ।
यसक्रममा ११० जनालाई ५ दिने उद्यमशीलता विकास तालिम सञ्चालन गरिने जानकारी दिइएको छ। सो पश्चात सहभागिताको माग, स्थानीय स्रोत–साधन र बजार सम्भावनाका आधारमा सिप विकास तालिम, लघु वित्तमा पहुँच, उपयुक्त प्रविधि हस्तान्तरण तथा बजारीकरण सम्बन्धी चरणबद्ध कार्यक्रम सञ्चालन गरिनेछ।
नगरपालिकाले यस परियोजनाबाट स्थानीय स्तरमा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र सामुदायिक आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया