काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा सञ्चालन भइरहेको सार्थक बालसिकाइ कार्यक्रम (बाल कक्षा)–२०८२ अन्तर्गतको प्रगति समीक्षा तथा प्रतिवेदन सार्वजनिक कार्यक्रम शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको साथै आधिकारिक प्रतिवेदन सार्वजनिक गरिएको हो।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की, वडा अध्यक्षहरू, शिक्षक, अभिभावक, Rato Bangala Foundation प्रतिनिधि, सरोकारवालाहरू तथा Municipal Youth (MY) प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले बालमैत्री शिक्षामा स्थानीय सरकार, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउँदै बालबालिकाको सिकाइ परिणाम सुधार गर्ने आवश्यकता औंल्याए।
नगर प्रमुख उपेन्द्र कार्कीले बाल शिक्षा स्थानीय तहको मूलभूत प्राथमिकता हुने उल्लेख गर्दै नगरपालिकाले गुणस्तरीय सिकाइ सुनिश्चितताका लागि आवश्यक नीति, स्रोत र समन्वय निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले नगरपालिकामा सञ्चालन भइरहेका विधेयक, कार्यक्रम र बजेटमार्फत बाल शिक्षामा हुने लगानीलाई आगामी वर्षमा अझ प्रभावकारी बनाइने बताए। त्यस्तै, विभिन्न वडाबाट आएर सहभागी भएका वडा अध्यक्षहरूले कार्यक्रमले स्थानीयस्तरमै सिकाइ अवसर विस्तार गर्न मद्दत गरेको जनाउँदै विद्यालयसँग प्रत्यक्ष सहकार्यमा आधारित शिक्षा नीतिले बालमैत्री वातावरण निर्माणमा योगदान पुर्याइरहेको धारणा राखे।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनले २०८२ सालको अवधिमा बाल कक्षामार्फत बालबालिकामा देखिएको सिकाइ सुधार, भाषा–व्यवहार, आत्मविश्वास र सहभागितामा भएको सकारात्मक प्रभावका तथ्यहरू प्रस्तुत गर्यो। अभिभावक र शिक्षकबीच नियमित संवाद, स्थानीय स्वामित्व, र समुदायको सक्रियता कार्यक्रमको मुख्य उपलब्धि रहेको प्रतिवेदनले उल्लेख गरेको छ। साथै, अभिभावक सहभागिता अभिवृद्धि, स्रोत व्यवस्थापन, प्रशिक्षित जनशक्ति, तथा बालमैत्री पूर्वाधार विस्तार कार्यक्रमका आगामी प्राथमिकता हुने बताइएको थियो ।
कार्यक्रमका सरोकारवालाहरूले सिकाइ नतिजालाई तथ्य विश्लेषणसहित मापन गर्दै अर्को चरणमा कार्यक्रमलाई थप विद्यालयमा विस्तार गर्न सुझाव दिएका थिए। कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र Rato Bangala Foundation को सहकार्यमा सम्पन्न भएको हो।

प्रतिक्रिया