काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन आवश्यक हुने ठहर गरेको हो ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरेको छ। राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको रक्षा मन्त्रालयका सचिव तथा राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, पछिल्ला घटनाक्रमको प्रभाव, र भावी रणनीतिका उपायबारे छलफल भएको पनि परिषद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।
प्रतिक्रिया