काठमाडौं । कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल (धुर्मुस) मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उपचार चलिरहेको खुलाएकी छन् ।
सुन्तलीका अनुसार छोरी शुविहानी जन्मेको १६ दिनमै मेनेन्जाइटिसको शिकार बनेका कारण घुँडाको हड्डीमा समेत इन्फेक्सन भएको र उनको उपचार लगातार चलिरहेको भन्दै उनले हालै पाटन हस्पिटलमा एक महिना उपचार गराएर फर्किएको जनाएकी छन् ।
कुञ्जनाले रंगशालाका कारण आफ्नो पारिवारिक जीवन तनावपूर्ण बनाएको, दोस्रोपटक आमा बन्नबाट खोसेको उल्लेख गर्दै सरकारले छुट्याएको बजेट निकासा गर्नलाई एउटा हाकिमलाई के ले अप्ठ्यारो बनायो ? भनि प्रश्न पनि गरेकी छन् ।
उनले लेखेकी छन्, ‘रंगशाला डेढ दिनमा लिन भ्याउने, त्यो बनाउँदा बाँकी रहेको तिरो चाँही तिर्न नपर्ने ? कस्तो अपराध गरेछौं नी हामीले !’
उनले लेखेकी छन्,
घरी यताबाट पत्र, घरी उताबाट पत्र गरेर ५ वर्ष एउटा परिवारको जीवन अलपत्र पारेर सकाइदियो …ले। अझ फेरि अर्को पत्र चाहियो रे ! आजसम्म यहाँहरू कसैलाई थाहा नभएको आफ्नो व्यक्तिगत समस्या सकभर नभनु भन्दा पनि भन्नै पर्ने अवस्था आयो ।
शुविहानीको उपचार जन्मेको १६ दिनदेखि म्यानेन्जाइटिस् जस्तो प्राणघातक रोगको शिकार भई सँगसँगै घुँडाको हड्डीमा समेत इन्फेक्सन भएर एउटा खुट्टाको घुँडाको कुर्कुरे हड्डी खाइसकेर उसको हाइट जति समयसम्म बढ्छ त्यति समयसम्म डाक्टरको निगरामी राखेर गर्नुपर्ने लामो समयसम्मको उपचारको नतिजा लिएर पाटन हस्पिटलको एक महिनाको बसाई सकेर घर फर्केका थियौं । हामी १२ वर्ष अगाडि। समाजिक कामसँगै छोरीको स्वास्थ्य रेखदेख हामी र हाम्रो दिदी भेनाले गर्दै नै आएका थियौं ।
आज छोरी १२ वर्षको पुगेर अब फाल्गुनमा १३ लाग्छिन् । उनको पहिलो रजस्वला हुने समय भइसक्यो र अब उनको हाइटको ग्रोथ कसरी हुन्छ भन्नै सकिँदैन । अहिले शुविहानीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ। उनी ४ वर्षको हुँदा उनको दाहिने खुट्टा छड्के भएर नबढोस् भनेर साइडबाट बढ्ने हड्डी रोक्न दाहिने घुँडामा अप्रेसन गरेर भित्र स्टिल राखिएको थियो । जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ वर्षै ढिला भइसकेको छ ।
अहिले उनलाई हिँड्नमा धेरै समस्या भइसकेको, हिपको जोइन्टमा उठ्दा बस्दा दुख्न थालेकोले बाहिर हुनु भएको हाम्रो जेठाजु दाजुलाई उपचारको लागि चाँजोपाँजो मिलाउन भनिसकेर हामी उपचारमा निस्किन लागेका थियौं, यो रङ्शालाको तिरोभारो सकेर । ४ वर्ष ढिला भइसक्यो । यो उपचार लामो अनि एकदम पेनफुल छ, हड्डी तन्काउने। यो कुरा सम्बन्धित निकायलाई बारम्बार अवगत गराउँदा पनि अझै हामीलाई उम्किन दिँदैन । अल्झाउने बाटो मात्रै गरिरहन्छ ।
माफ गर्नुहोला मलाई मेरो व्यक्तिगत जीवन अनि आफ्नो बच्चालाई रङ्शालासँग कहिल्यै जोड्ने मन थिएन । म दोस्रो पटक आमा बन्ने सौभाग्य पनि खोसेको थियो यो रङ्शालाको तनावले। धेरै असर पार्यो हामीसँगै हाम्रो आफन्त परिवारलाई यो तनावले । तर हामी चुपचाप सहेर बस्यौं । अब त अति नै भयो, भन्छन् नी अति गर्नु अत्याचार नगर्नु । सरकारले छुट्याएको बजेट निकासा गर्नलाई एउटा हाकिमलाई के ले अप्ठ्यारो बनायो के ? रङ्गशाला डेढ दिनमा लिन भ्याउने, त्यो बनाउँदा बाँकी रहेको तिरो चाहिँ तिर्न नपर्ने ? कस्तो अपराध गरेछौं नी हामीले !
प्रतिक्रिया