काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले “प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) लाई यस वर्ष अझ प्रभावकारी र सहभागितापूर्ण बनाउन तयारी बैठक सम्पन्न गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिकामा बसेको बैठकले मंसिर ९ गते विशेष उद्घाटन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै, अभियानभर विभिन्न संस्था, महिला समूह र सहकारीहरूसँग घनिष्ठ समन्वय गरी सार्थक र प्रभावकारी गतिविधि सञ्चालन गर्ने कार्ययोजना पारित गरिएको छ। यसै क्रममा मंसिर २४ गते महिला हिंसा विरुद्ध “भावनात्मक कचहरी” सहितको आकर्षक समापन कार्यक्रम आयोजना गरिने निर्णय पनि बैठकमा गरिएको छ।
अभियानका मुख्य कार्यक्रमहरूमा ९ वटै वडामा पाठेघर तथा स्तन क्यान्सर र घरेलु हिंसा विरुद्ध सचेतना कार्यक्रम, विद्यालयहरूमा बालबालिकाका लागि प्रविधि प्रयोगको सही शैली, डिजिटल सचेतना तथा आत्मरक्षा प्रशिक्षण, महिला समूहसँग सहकार्य गर्दै महिला सशक्तिकरण, हिंसा न्यूनीकरण, क्षमता विकास तथा आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गर्न प्रस्ताव आह्वान गर्ने योजना समावेश छ। तयारी बैठकले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सबै पक्षको सक्रिय भूमिका सुनिश्चित गर्दै अभियानलाई व्यापक प्रभाव पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया