गोकर्णेश्वर नगरपालिकाको वडा नं. ९ ले त्रीवेणी चोक क्षेत्रमा आधुनिक सुरक्षा व्यवस्थाको सुरुवात गर्दै कुल १६ वटा सीसी क्यामेरा जडान गरेको छ। करिब एक दशकअघि नामाकरण गरिएको त्रीवेणी चोकले यो अवधिमा भौतिक पूर्वाधारदेखि सामाजिक गतिविधिसम्म उल्लेख्य परिवर्तन देखेको छ।
उक्त विकास प्रक्रियामा साथ र सहयोग गर्ने सम्पूर्ण सरोकारवाला तथा संस्थाप्रति स्थानीयवासीले कृतज्ञता व्यक्त गरेका छन्। स्थानीयका अनुसार, पहिलाका पुस्ताले “भित्ताका कान हुन्छन्” भन्ने उक्ति सुन्दै आए पनि अब डिजिटल युगमा प्रवेशसँगै “भित्ताका आँखा पनि हुन्छन्” भन्ने सावधानी अपनाउनुपर्ने समय आएको छ।
वडा–९ द्वारा गरिएको डिजिटल निगरानीको व्यवस्था सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उनीहरूको भनाइ छ। नयाँ जडान भएका क्यामेराले त्रीवेणी चोक क्षेत्र पूर्ण निगरानीमा आउने भएकाले कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, तोडफोड, चोरी वा बदमासी नियोजित गर्ने व्यक्तिहरूलाई अब सावधान रहन वडा अध्यक्ष राजिब थापा र स्थानीयले चेतावनी दिएका छन्।
क्यामेरा सक्रिय रहेकाले हरेक गतिविधि रेकर्ड हुने हुँदा सार्वजनिक सुरक्षामा थप प्रत्याभूति मिल्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले आधुनिक सुरक्षा व्यवस्थाको पहल गरेकोमा वडा परिवार तथा नगरपालिकाप्रति विशेष धन्यवाद ज्ञापन गर्दै यसले त्रीवेणी चोकलाई डिजिटल र सुरक्षित क्षेत्रका रूपमा उभ्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया