प्रधानमन्त्री कार्की र उपत्यका ‘मेयर फोरम’का प्रतिनिधिबीच छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८२, मंगलवार ०६:५१

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका ‘मेयर’हरूसँग छलफल गरेकी छिन्।

उपत्यका मेयर्स फोरमका प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा भएको भेटमा स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यसका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटका क्रममा फोहर व्यवस्थापन, सडक बत्तीको बक्यौता, सुरक्षा चुनौती र विकास निर्माणका अवरोधलगायत स्थानीय तहलाई परेका विभिन्न समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको र सरकारले यसबारे ‘बोल्ड’ निर्णय गर्नुपर्ने धारणासमेत राखेका प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ।

छलफलमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सडक बत्तीको बक्यौता रकम धेरै वर्षयता राफसाफ नभएको उल्लेख गर्दै ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत सङ्घीय सरकारले तिर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गरे।

गोकर्णेश्वर नगरपालिका प्रमुखले नेपाल ट्रस्टको जग्गामा सडक विस्तारका लागि पहल गर्न अनुरोध गरे।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा–छहरे सडक चौडाइका लागि स्थानीयलाई मुआब्जा दिने निर्णय गर्न गैरदलीय सरकारले ऐतिहासिक कदम चाल्नुपर्ने सुझाव दिए।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिहरूद्वारा गरिएको लुटपाटमा कडा कारबाही गर्नुपर्ने माग गरे।

चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सल्लाघारी–कमलविनायक–नगरकोट सडक वर्षौंदेखि अधुरै रहेकाले छिटो सम्पन्न गरिदिन माग गरे।

प्रतिक्रिया

slot gacor