कागेश्वरी मनोहरा (काँडाघारी) । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित अक्षरा स्कुलले रात्रीकालीन ड्युटीमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै काँडाघारी प्रहरी प्रभागलाई ४५ थान रिफ्लेक्टिभ बेल्ट (Reflective Belt) हस्तान्तरण गरेको छ।
नगरपालिकाले प्रवर्द्धन गर्दै आएको ‘सुरक्षित समुदाय अभियान’सँगै विद्यालयले अघि सारेको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सामग्री हस्तान्तरण गरिएको हो। नगर प्रमुख उपेन्द्र कार्की र विद्यालयका सञ्चालक राधेश्याम खड्काले संयुक्त रूपमा प्रभाग प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र राईलाई रिफ्लेक्टिभ बेल्ट हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले विद्यालय–समुदाय–सुरक्षा संयोजनलाई आजको आवश्यकता भन्दै यस किसिमको सहकार्यले स्थानीय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। उहाँले भने, “समाजका सबै तहमा सहकार्यको भावना प्रबर्द्धन हुन सके मात्र सुरक्षित, व्यवस्थित र समृद्ध नगरपालिका निर्माण सम्भव हुन्छ।”
विद्यालयका सञ्चालक राधेश्याम खड्काले अक्षरा स्कुलले शिक्षण–अधिगम गतिविधिसँगै सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले विभिन्न सामुदायिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए। “हाम्रो विद्यालय केवल शैक्षिक केन्द्र मात्र होइन, समुदायको अभिन्न सहयात्री पनि हो,” खड्काले जोड दिए।
रात्री समयमा प्रहरीहरूको दृश्यता वृद्धि गर्ने र सडक दुर्घटनाको जोखिम न्यूनिकरणमा रिफ्लेक्टिभ बेल्ट उपयोगी हुने भएकाले यो सहयोग प्रभावकारी हुने प्रहरी निरीक्षक भूपेन्द्र राईले बताए। उहाँले विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै यस्तो समर्थनले सुरक्षाकर्मीहरूलाई सेवा प्रवाहमा थप आत्मविश्वास मिल्ने उल्लेख गरे। कार्यक्रममा गान्धी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गयाप्रसाद उपाध्याय, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रतिक्रिया