ललितपुर। K-Kids Club of Jaya Brighter Future ले बुधबार गोदावरी नगरपालिका–१० स्थित आनन्द वनसम्म हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। बालबालिकामा नेतृत्व क्षमता, सहकार्य भावना र प्रकृतिप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम बिहान १० बजे सुरू भएर दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। हाइकिङमा क्लबका विद्यार्थी सदस्य, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्। कार्यक्रमलाई किवानिस क्लब अफ तहखेल, ललितपुर ले प्रायोजन गरेको थियो भने जया सेकन्डरी बोर्डिङ स्कुल, मध्यपुर ठिमी–बोडे–९, तिगानी सह–प्रायोजक रहेको थियो। आयोजक क्लबका अनुसार यस्तो प्रकारको कार्यक्रमले बालबालिकालाई अध्ययनसँगै शारीरिक तन्दुरुस्ती र व्यवहारिक सीप सिक्ने अवसर प्रदान गर्छ। “हामीले बालबालिकामा आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकसित गर्ने लक्ष्यसहित हाइकिङ आयोजना गरेका हौं,” क्लबका सिताराम बिष्टले बताए। ‘Help for Children’ भन्ने नारासहित गरिएको उक्त हाइकिङले समुदायमा बालमैत्री गतिविधिको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया