जापानको ओत्सुकी नगरपालिकाले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई सहयोग स्वरुप अत्याधुनिक दमकल (बारुणयन्त्र) हस्तान्तरण गरेको छ।
नगरपालिका परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच ओत्सुकी नगरप्रमुख कोबायासी नोबोयासुले कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीलाई दमकलको साँचो औपचारिक रूपमा हस्तान्तरण गरे।
मेयर कार्कीले दमकल हस्तान्तरणले नेपाल र जापानबीचको जनस्तरीय सम्बन्ध अझ सुदृढ र दीर्घकालीन बन्ने बताए। उनले भने,‘जापान सरकारको यो सहयोग हाम्रा लागि गर्व र खुशीको विषय हो। दिगो विकासका लागि उत्पादन, प्रविधि, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणमा ध्यान दिनु जरुरी छ। हामीले अहिले गर्ने प्रयासले भोलिको पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नेछ।’
सहरीकरण र आगलागीका घटनामा वृद्धि भइरहेका बेला नगरप्रमुख कार्कीको विशेष पहलमा दमकल सहयोग प्राप्त भएको हो।यसले पानी र फोम दुवै माध्यमबाट आगो निभाउन सक्छ। पानीले निभाउन नसक्ने आगो फोम प्रयोग गरेर निभाउने छ । कार्यक्रममा उपमेयर शान्ता थापा, प्रशासकीय प्रमुख पुरुषोत्तम सुवेदीसहित नगरका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा मेयर कार्कीले ओत्सुकी नगरप्रमुखलाई मायाको चिनोस्वरूप एकसिंगे ‘गैंडा टोकन’ प्रदान गरे। दुवै नगरबीच घनिष्ठ सम्बन्ध कायम रहेको छ।समारोहमा मैत्री सम्बन्धको प्रतीकका रूपमा वृक्षारोपण समेत गरिएको थियो।
मैत्री र सहकार्यको यो कदमले नेपाल–जापान सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ ।कागेश्वरी मनोहरा नगरपालिका सुशासन कायम गर्दै जनताका लागि आवश्यक सेवा सुविधा विस्तार र विकास निर्माणमा निरन्तर अघि बढिरहेको छ।

प्रतिक्रिया