काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको स्वास्थ्य सेवाको समीक्षाको आधारमा गोकर्णेश्वर नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको ठहर गरिएको छ। काठमाडौं जिल्लाका सबै स्थानीय तहबीचको मूल्याङ्कनमा गोकर्णेश्वर नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको हो।
समीक्षामा नगर अस्पतालहरू तथा नगरभित्र रहेका स्वास्थ्य संस्थाहरूले प्रदान गरेको सेवा, नागरिक पहुँच, मातृशिशु स्वास्थ्य, खोप अभियान, सरसफाइ, जनचेतनामूलक कार्यक्रम र रोग नियन्त्रणमा गरिएको सक्रियता प्रमुख मूल्याङ्कनका सूचकहरू रहेका थिए।
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विगत केही वर्षयता आधुनिक सेवा विस्तार, स्वास्थ्य जनशक्ति सुदृढीकरण, मोबाइल स्वास्थ्य सेवा, रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता उल्लेखनीय कार्यक्रमहरू अघि बढाउँदै आएको छ।
नगर प्रमुख तथा उप–मेयरको संयोजनमा सञ्चालित ‘स्वस्थ नागरिक, सबल नगरपालिका’ अभियानले स्थानीय स्तरमा स्वास्थ्यप्रतिको जागरूकता र सेवा–गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार, गोकर्णेश्वर नगरपालिकाको यो उपलब्धि समन्वित योजना, प्रतिबद्ध नेतृत्व र स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासको परिणाम हो।
गोकर्णेश्वर नगरपालिकाले यो सफलता आगामी दिनमा थप प्रेरणा स्वरूप प्रयोग गर्दै स्वास्थ्य सेवामा अझ नवीन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया